काठमाडौं, नेपाली युवालाई सूचना तथा प्रविधि क्षेत्रमा सशक्त बनाउने उद्देश्यका साथ नेपालको अग्रणी प्रविधि सञ्चार माध्यम आइसिटी फ्रेमले टेक(एक्स) सँगको सहकार्य र टेक ब्लगर्स एसोसिएसन अफ नेपालको सहयोगमा ‘आइटी प्रोजेक्ट कम्पिटिसन अवार्ड २०२६’ आयोजना गर्ने घोषणा गरेको छ । “नवप्रवर्तनको सम्मान, उत्कृष्टताको उत्सव” भन्ने नारासहित आयोजना हुन लागेको यो राष्ट्रियस्तरको प्रतिस्पर्धा शनिबार, २ मे २०२६ (१९ वैशाख २०८३) मा सम्पन्न हुनेछ ।
यस प्रतियोगिताको उद्देश्य देशभरका स्नातक विद्यार्थी, स्वतन्त्र विकासकर्ता तथा उदीयमान प्रविधि नवप्रवर्तकहरूलाई आफ्ना सिर्जनशील आइटी परियोजनाहरू प्रस्तुत गर्ने साझा मञ्च उपलब्ध गराउनु हो । शैक्षिक प्रोजेक्टलाई केवल ग्रेडसम्म सीमित नराखी व्यावहारिक, दिगो र प्रभावकारी समाधानतर्फ उन्मुख गराउने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको आयोजकले जनाएको छ ।
अवार्ड कार्यक्रमको औपचारिक उद्घाटन लिबर्टी कलेजका प्रिन्सिपल डा. देवराज पनेरुले गर्नुभएको हो । उद्घाटन समारोहमा बोल्दै उहाँले परियोजनामा आधारित सिकाइ आधुनिक शिक्षाको अपरिहार्य अङ्ग भएको उल्लेख गर्नुभयो। उद्योगमैत्री जनशक्ति उत्पादन गर्न र युवालाई आत्मविश्वासी प्रविधि नेतृत्वतर्फ अग्रसर गराउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ ।
यस प्रतियोगिताको अवधारणात्मक रूपरेखा साइबर सुरक्षा विज्ञ तथा वान कभर प्रा.लि.का सिइओ चिरञ्जीवी अधिकारीले तयार पार्नुभएको हो । उहाँका अनुसार आइटीपीसीए अन्तर्गत सहभागी परियोजनाहरूको मूल्याङ्कन नवीनता, व्यावहारिक उपयोगिता, सामाजिक तथा आर्थिक प्रभाव र दीर्घकालीन सम्भावनाका आधारमा गरिनेछ । यसले विद्यार्थी र युवालाई कक्षाकोठाभन्दा बाहिरको वास्तविक व्यावसायिक संसारसँग जोड्ने विश्वास लिइएको छ ।
प्रविधि क्षेत्रमा सक्रिय युवाहरूले यस प्रतियोगितालाई आफ्नो करियरको महत्वपूर्ण अवसरका रूपमा लिएका छन् । सहभागी युवाहरूका अनुसार आइटीपीसीएले मौलिक विचारलाई उद्योगसँग जोड्ने, मार्गदर्शन तथा व्यावसायिक नेटवर्क निर्माण गर्ने र समावेशी राष्ट्रिय पहिचान दिलाउने अवसर प्रदान गर्नेछ ।
आइसिटी फ्रेम र टेक–एक्सको सहकार्यमा आयोजना हुने यो कार्यक्रमले नेपालको डिजिटल इकोसिस्टमलाई थप सुदृढ बनाउँदै युवा प्रतिभाका लागि ‘लन्चप्याड’को काम गर्ने अपेक्षा गरिएको छ । सहभागिताका मापदण्ड, विषयवस्तु र निर्णय प्रक्रियासम्बन्धी विस्तृत जानकारी आगामी दिनहरूमा आइसिटी फ्रेमको आधिकारिक वेबसाइट र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने जनाइएको छ ।
