पीडा, चेतना र जागरणको साहित्यिक धार : शोभा ज्ञवालीको ‘मन्दाकिनी’ सार्वजनिक

काठमाडौंमा आयोजित एक विशेष समारोहबीच साहित्यकार तथा उद्यमी शोभा ज्ञवालीको तेस्रो कृति ‘मन्दाकिनी’ सार्वजनिक गरिएको छ। महिला उद्यमी महासंघकी निवर्तमान अध्यक्ष तथा नेपाल रिपब्लिक मिडियाकी अध्यक्षसमेत रहेकी ज्ञवालीको यो नयाँ कृतिले महिला संवेदना, समाजका अन्तरविरोध, पीडा र चेतनाको गहिराइलाई साहित्यिक स्वर दिएको छ। कार्यक्रममा साहित्य, राजनीति, सुरक्षा निकाय, उद्योग–व्यापार तथा सञ्चार क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार तथा मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालले ज्ञवालीको लेखनले समाजका अप्ठ्यारामा परेका मानिसहरूको कथा उजागर गर्ने सामर्थ्य राख्ने बताए। उनले भने, “उहाँ चेतनाको चौथो तहबाट लेखिरहनुभएको अनुभूति हुन्छ। विषयवस्तुमा परिपक्वता, भाषामा पकड र शैलीमा सरलता भए पनि प्रभाव अत्यन्त गहिरो छ।” विशेष अतिथिका रूपमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दान बहादुर कार्की, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकाल, उपाध्यक्ष हेमराज ढकाल, काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा बागमती प्रदेशका पूर्वमन्त्री केशव स्थापित, औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक इ. उमेश कुमार गुप्ता लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो। कार्यक्रमको सभापतित्व नेपाल रिपब्लिक मिडियाका संस्थापक विनोदराज ज्ञवालीले गरेका थिए।

‘मन्दाकिनी’ ज्ञवालीको तेस्रो कृति हो। यसअघि उनले २०७७ सालमा ‘सम्पूर्ण आकाश’ र त्यसपछि ‘संघर्ष’ प्रकाशन गरेकी थिइन्। नयाँ कृतिमा १० विधामा कथा संग्रहित छन्, जसमा नेपालदेखि विश्व परिवेशसम्मका घटनाक्रम, महिलामाथि हुने पीडा र उत्पीडन, सामाजिक विभेद, मौन संघर्ष र आशाका किरणहरू समेटिएका छन्। सरल, सहज र प्रभावकारी भाषाशैलीमा लेखिएको पुस्तकले साधारण देखिने पात्रहरूको असाधारण भित्री संसार उजागर गर्ने प्रयास गरेको छ। कृतिको अङ्ग्रेजी संस्करणसमेत प्रकाशन गर्ने तयारी रहेको जानकारी दिइएको छ।

आफ्नो मन्तव्यमा ज्ञवालीले ‘मन्दाकिनी’लाई सिर्जनात्मक यात्राको भावनात्मक मोडको रूपमा व्याख्या गरिन्। “यो केवल शब्द र कलमको उत्पादन होइन, धेरै मौनता, आँसु र पीडाबाट जन्मिएको पुस्तक हो,” उनले भनिन्, “यो कल्पनाको संसार होइन, हाम्रो वरिपरि बाँचिरहेका मानिसहरूको यथार्थ कथा हो।” उनले साहित्यलाई मनोरञ्जनभन्दा पर समाज बुझ्ने ऐना मान्दै मानवीय संवेदना, सम्बन्ध, पीडा र आशालाई केन्द्रमा राखेर लेखन गरेको स्पष्ट पारिन्।

‘मन्दाकिनी’ जस्तो कृति केवल कथा संग्रह मात्र होइन, महिला जागरणको दस्तावेज पनि हो। समाजमा देखिने विभेद, अन्याय र असमानताका विरुद्ध आवाज उठाउँदै यसले चेतना, आत्मविश्वास र रूपान्तरणको सन्देश दिन खोजेको छ। कार्यक्रममा उपस्थित साहित्यप्रेमी, समालोचक र पाठकहरूले ज्ञवालीको लेखन यात्रालाई निरन्तरता दिन आग्रह गर्दै कृतिले नेपाली साहित्यमा संवेदनशील हस्तक्षेप गरेको धारणा व्यक्त गरेका थिए।

महिलाका अनुभव, युवाका प्रश्न, समाजका जटिल यथार्थ र परिवर्तनको आकांक्षा समेटिएको ‘मन्दाकिनी’ले नेपाली साहित्यमा संवेदना र सामाजिक चेतनाको नयाँ धार थप्ने विश्वास लिइएको छ।

पुस्तक बिमोचन कार्यक्रमका तस्बिरहरु :