कांग्रेसको केन्द्रीय प्रचार समिति विस्तार

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले आफ्नो प्रचार संयन्त्रलाई थप सशक्त बनाउने उद्देश्यका साथ देवराज चालिसेको संयोजकत्वमा गठन गरिएको केन्द्रीय प्रचार समितिमा नयाँ सदस्यहरू मनोनयन गरेको छ। निर्वाचन अभियानलाई प्रभावकारी, व्यवस्थित र सन्देशमुखी बनाउने रणनीतिअन्तर्गत विभिन्न क्षेत्रका अनुभवी र बौद्धिक व्यक्तित्वहरूलाई समितिमा समेटिएको जनाइएको छ।

समितिमा विपुल पोखरेल (दाङ) सदस्यका रूपमा मनोनित भएका छन्। उनी नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष हुन्। त्यसैगरी विसुकुमार केसी, सुदर्शन आचार्य र केशव पाठकलाई पनि सदस्यमा मनोनयन गरिएको छ। काठमाडौमा बसोबास गर्ने केसी, आचार्य र पाठक लामो समयदेखि लेखन तथा पत्रकारितामा सक्रिय रहँदै आएका छन्।

बुढानीलकण्ठ–११ निवासी विसुकुमार केसी नेपाली लेखक संघका केन्द्रीय कोषाध्यक्षसमेत हुन्। बुढानीलकण्ठ–२ निवासी सुदर्शन आचार्य प्रेस काउन्सिलका पूर्व सदस्य हुन् भने विभिन्न सञ्चारमाध्यममा राजनीति र सुशासनसम्बन्धी विश्लेषणात्मक लेख लेख्दै आएका छन्। उनी नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका पूर्व अध्यक्षसमेत हुन्। यस्तै, बुढानीलकण्ठ–१ निवासी केशव पाठक पनि लेखन र पत्रकारितामा सक्रिय छन् ।

कांग्रेसले आसन्न निर्वाचनलाई दृष्टिगत गर्दै जनतासम्म पार्टीका एजेन्डा, नीतिगत धारणा र उपलब्धिहरू प्रभावकारी रूपमा पुर्‍याउने लक्ष्यसहित प्रचार संयन्त्रलाई विस्तार गरेको बताएको छ। अनुभवी सञ्चारकर्मी, लेखक तथा राजनीतिक रूपमा सक्रिय व्यक्तित्वहरूको सहभागिताले प्रचार अभियानलाई अझ व्यवस्थित, बौद्धिक र जनमुखी बनाउने विश्वास पार्टीले लिएको छ।