हेटौंडा । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय हेटौंडाले आफ्नो २२औँ वार्षिक ग्राहक/सदस्य गुनासो सुनुवाइ (इकाई भेला) कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा उत्कृष्ट इकाईलाई नगद पुरस्कार, छात्रवृत्ति तथा प्रशंसा–पत्र प्रदान गरिनुका साथै सफल व्यवसायी सदस्यलाई नगद र सम्मानपत्रबाट पुरस्कृत गरिएको थियो। त्यस्तै, एसईई परीक्षामा उत्कृष्ट जीपीए प्राप्त गर्ने सदस्यका छोराछोरीलाई नगदसहित सम्मान-पत्र प्रदान गरिएको थियो भने विशिष्ट सदस्यहरूलाई विशेष सम्मान गरिएको थियो।
कार्यक्रम केवल औपचारिकता नभई सदस्यसँगको प्रत्यक्ष संवाद र विश्वास सुदृढ गर्ने थलो बनेको थियो। संस्थाले समय-समयमा शाखा भ्रमण गर्दै सदस्यका समस्या सुन्ने, समाधानका उपाय सार्वजनिक रूपमा प्रस्तुत गर्ने र गुनासोलाई पारदर्शी ढंगले सम्बोधन गर्ने अभ्यासलाई निरन्तरता दिँदै आएको जनाएको छ। यस्तो अभ्यासले संस्थालाई सदस्य-मैत्री र उत्तरदायी बनाएको सहभागीहरूको बुझाइ छ।
भेलामा बोल्दै संस्थाका प्रतिनिधिहरूले लघुवित्त केवल ऋण प्रवाह गर्ने माध्यम मात्र नभई सदस्यको आर्थिक सशक्तीकरण, उद्यम विकास र सामाजिक रूपान्तरणको सहयात्री भएको उल्लेख गरेका छन। साना-साना बचत र परिश्रमबाट ठूला सपना साकार पार्ने यात्रामा छिमेक लघुवित्तले सदस्यहरूसँग हातेमालो गर्दै आएको छ ।
सम्मानित सदस्यहरूले पनि संस्थाप्रति कृतज्ञता व्यक्त गर्दै नियमित अनुगमन, परामर्श र सहजीकरणले आफ्नो व्यवसाय विस्तार तथा पारिवारिक आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याएको बताए। विद्यार्थी सम्मान कार्यक्रमले शिक्षा क्षेत्रमा थप उत्साह र प्रेरणा दिएको अभिभावकहरूको प्रतिक्रिया छ ।
समग्रमा, २२औँ इकाई भेला कार्यक्रमले वित्तीय सेवा मात्र होइन, सामाजिक उत्तरदायित्व र पारस्परिक विश्वासलाई पनि मजबुत बनाउने सन्देश दिएको छ। सदस्यको प्रगति नै संस्थाको सफलता हो भन्ने भावनासहित सम्पन्न कार्यक्रमले छिमेक लघुवित्तको सामुदायिक प्रतिबद्धतालाई थप उजागर गरेको छ।
इकाई भेलाका तस्बिरहरु :












