शिक्षामा डिजिटल रूपान्तरण : प्याब्सन र डिजी होल्डिङ ग्रुपबीच रणनीतिक सहकार्य नवीकरण

काठमाडौं । निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन प्याब्सन र डिजिटल प्रविधि क्षेत्रमा अग्रणी डिजी होल्डिङ ग्रुप बीच डिजिटल साक्षरता अभियानलाई सुदृढ बनाउने उद्देश्यसहित तीन वर्षे रणनीतिक साझेदारी (Strategic Partnership) सम्झौता नवीकरण गरिएको छ। यस सहकार्यलाई नेपालका निजी तथा आवासीय विद्यालयहरूमा डिजिटल रूपान्तरण (Digital Transformation) लाई संस्थागत र दिगो बनाउने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

नवीकृत सम्झौताअनुसार डिजी होल्डिङ ग्रुपले आफ्नो शैक्षिक प्रविधि (Educational Technology) र प्राविधिक दक्षतामार्फत प्याब्सन डिजिटल इकोसिस्टम (PDE – PABSON Digital Ecosystem) को विकास तथा स्तरोन्नतिमा सहयोग गर्नेछ। PDE ले विद्यालय प्रशासन, शैक्षिक व्यवस्थापन र सञ्चार प्रणालीलाई एउटै एकीकृत डिजिटल संरचनामा आबद्ध गर्ने लक्ष्य लिएको छ। यसअन्तर्गत वेब–आधारित प्रणाली (Web-based System), एन्ड्रोइड तथा आईओएस मोबाइल एप्लिकेशन (Android & iOS Mobile Application), परीक्षा व्यवस्थापन प्रणाली (Examination Management System), विद्यार्थी तथा विद्यालय दर्ता प्रणाली (Student & School Registration System), शिक्षक–अभिभावक–विद्यालयबीचको सञ्चार संयन्त्र (Communication Mechanism), इभेन्ट व्यवस्थापन प्रणाली (Event Management System) तथा डिजिटल भुक्तानी एकीकरण (Digital Payment Integration) जस्ता सेवा समावेश गरिएका छन्।

यस डिजिटल संरचनाले विद्यालयको दैनिक प्रशासनिक कार्यदेखि शैक्षिक मूल्याङ्कन र वित्तीय व्यवस्थापनसम्मका प्रक्रियालाई सरल, छरितो र पारदर्शी बनाउने अपेक्षा गरिएको छ। सम्झौताअनुसार प्याब्सनले आफ्ना केन्द्रीय, प्रादेशिक, जिल्ला र स्थानीय तहका समितिहरूमा PDE प्रणालीको कार्यान्वयनलाई प्राथमिकतामा राख्नेछ भने सदस्य विद्यालयहरूमा यसको प्रयोगलाई प्रवर्द्धन गर्दै डिजिटल व्यवस्थापनलाई क्रमशः अनिवार्य अभ्यासको रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।

डिजी होल्डिङ ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठले शिक्षामा डिजिटल प्रविधिको बढ्दो आवश्यकता र प्रविधिमैत्री शिक्षा प्रणालीको महत्वबारे जोड दिँदै डिजिटल साक्षरता (Digital Literacy) ले भविष्यका पुस्तालाई सक्षम, सिर्जनशील र जिम्मेवार नागरिक बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार डिजिटल प्रणालीले विद्यालय प्रशासनलाई सहज बनाउनुका साथै शिक्षकलाई आधुनिक शिक्षण विधि (Modern Teaching Methods) अपनाउन र विद्यार्थीलाई प्रविधिसँग जिम्मेवार तथा रचनात्मक रूपमा जोड्न सहयोग पुर्‍याउनेछ। डिजिटल रूपान्तरण अब विकल्प नभई आवश्यकता बनिसकेको उल्लेख गर्दै विद्यालय तहदेखि नै सुरक्षित र प्रभावकारी डिजिटल अभ्यास (Safe & Effective Digital Practices) विकास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

नवीकरण गरिएको सम्झौताअनुसार डिजी ग्रुपले आवश्यक प्राविधिक पूर्वाधार (Technical Infrastructure), सफ्टवेयर विकास (Software Development) तथा निरन्तर प्राविधिक सहयोग उपलब्ध गराउनेछ भने प्याब्सनले आधिकारिक समर्थन, संस्थागत सहकार्य र आफ्नो विस्तृत सञ्जालमार्फत बजार पहुँच (Market Access) प्रदान गर्नेछ।

यस साझेदारीले नेपालभरका निजी तथा आवासीय विद्यालयहरूमा डिजिटल साक्षरता अभिवृद्धि, शैक्षिक प्रशासनको आधुनिकीकरण, परीक्षा प्रणालीको विश्वसनीयता, प्रभावकारी सञ्चार र डिजिटल वित्तीय व्यवस्थापनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ। शिक्षा क्षेत्रलाई समयसापेक्ष, प्रविधिमैत्री र भविष्य–उन्मुख बनाउने दिशामा यो सहकार्य एक महत्वपूर्ण कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ।