काठमाडौं । सिन्धुपाल्चोक छेत्र नम्बर २ बाट नेपालि कांग्रेस प्रतिनिधिसभा सदस्यका उम्मेदवार वंशलाल तामाङले शिक्षा सुधार, समावेशी विकास र सुशासनलाई प्राथमिकतामा राख्दै आफ्ना प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ। उहाँले “बाचा होइन, जिम्मेवारी—विकास केन्द्रित हाम्रो तयारी” भन्ने मूल नारासहित शिक्षा क्षेत्रको गुणस्तर सुधार र सामाजिक न्यायलाई आफ्नो प्रमुख एजेन्डा बनाउनु भएको छ।
उम्मेदवार तामाङले सरकारी विद्यालयको गुणस्तर सुधारलाई पहिलो प्राथमिकता दिँदै भौतिक पूर्वाधार सुदृढीकरण, शैक्षिक वातावरण सुधार तथा सिकाइ उपलब्धि वृद्धि गर्ने स्पष्ट योजना अघि सार्नुभएको छ। साथै प्राविधिक र सीपमूलक शिक्षालाई विद्यालय तहबाटै जोडेर युवालाई रोजगारीमुखी बनाउने दृष्टिकोण राख्नुभएको छ। उहाँका अनुसार शिक्षक तालिम र समयानुकूल पाठ्यक्रम परिमार्जनमार्फत शिक्षालाई जीवनोपयोगी र प्रतिस्पर्धी बनाउन आवश्यक छ।
समाजका गरिब, दलित, जनजाति, महिला र अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरणलाई पनि उहाँले आफ्नो प्रतिबद्धतामा समेट्नुभएको छ। सामाजिक समावेशिता र समान अवसर सुनिश्चित नगरी समृद्धि सम्भव नहुने धारणा राख्दै तामाङले सबै वर्ग र समुदायको सहभागितामा विकास अगाडि बढाउने संकल्प व्यक्त गर्नुभएको छ।
नेपाली कांग्रेसको “बदलियो कांग्रेस, बदलिँदै देश” भन्ने अभियानलाई समर्थन गर्दै उहाँले लोकतान्त्रिक मूल्य–मान्यता, पारदर्शिता र जवाफदेहितामा आधारित शासन प्रणालीलाई सुदृढ बनाउने अठोट व्यक्त गर्नुभएको छ। विकासलाई दलगत स्वार्थभन्दा माथि राख्दै स्थायित्व, सुशासन र जनमुखी नीति निर्माणमार्फत क्षेत्रको समग्र उन्नति गर्ने प्रतिबद्धता जनाइएको छ।
तामाङले शिक्षा, सीप विकास र सामाजिक न्यायलाई आधार बनाएर समृद्ध र समावेशी समाज निर्माण गर्ने लक्ष्य राख्नुभएको छ। आगामी निर्वाचनलाई परिवर्तनको अवसरका रूपमा लिन आह्वान गर्दै उहाँले मतदातालाई विवेकपूर्ण निर्णयमार्फत विकासको यात्रामा साथ दिन अनुरोध गर्नुभएको छ।