नुवाकोट–१ मा नेकपाका हित बहादुर तामाङको बलियो दाबी

२०८२ फागुन १४ नुवाकोट । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नुवाकोट क्षेत्र नम्बर–१ को राजनीतिक माहोल तातिँदै गएको छ। नेकपाका तर्फबाट उम्मेदवार रहनु भएका हित बहादुर तामाङ यतिबेला जनताको घरदैलोमा पुगेर आफ्ना एजेन्डा र प्रतिबद्धता राख्दै हुनुहुन्छ। स्पष्ट वक्ता, सरल स्वभाव र जनताको दुःख–सुखमा सधैँ साथ दिने नेताका रूपमा परिचित तामाङलाई स्थानीयले विकासप्रेमी, इमानदार र परिणाममुखी नेताका रूपमा लिने गरेका छन्।

“गाउँ–गाउँबाट उठौँ, बस्ती–बस्तीबाट उठौँ, तारा चिन्हमा भोट हालौँ, समृद्ध नुवाकोट बनाऔँ” भन्ने नारासहित चुनावी अभियान अघि बढाइएको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तामाङले आफूले सुरु गरेका विकासका कामलाई निरन्तरता दिन पुनः जनादेश आवश्यक रहेको बताउनुभएको छ। उहाँका अनुसार निर्वाचन केवल सत्ता प्राप्तिको प्रक्रिया नभई जनताको भविष्य निर्धारण गर्ने ऐतिहासिक अवसर हो।

नुवाकोटमा २०७४ सालपछि देखिएको भौतिक पूर्वाधार विकास, सडक सञ्जाल विस्तार, सामुदायिक भवन निर्माण, खानेपानी तथा विद्युत् पहुँच विस्तार जस्ता कार्यहरूलाई उहाँ आफ्नो कार्यकालको उपलब्धिका रूपमा प्रस्तुत गर्नुहुन्छ। विशेषगरी युवाहरूलाई केन्द्रमा राखेर अघि बढाइएका कार्यक्रमले जिल्लामा सकारात्मक ऊर्जा थपेको उहाँको दाबी छ।

“युवाहरूको नेतृत्व र सक्रियता भन्ने भावनात्मक सन्देशसहित उहाँले युवा सशक्तीकरणलाई आगामी कार्ययोजनाको केन्द्रमा राख्नुभएको छ। खेलकुद पूर्वाधार, सीपमूलक तालिम, स्वरोजगार कार्यक्रम र नवप्रवर्तनलाई प्राथमिकता दिँदै जिल्लालाई अवसरको भूमि बनाउने लक्ष्य उहाँले अघि सार्नुभएको छ। समाज परिवर्तनको मुख्य शक्ति युवा नै भएको उल्लेख गर्दै उहाँले भन्नुभएको छ— “कुरा कम, काम धेरै।”

स्थानीय बासिन्दाका अनुसार हित बहादुर तामाङ केवल भाषण गर्ने नेता होइनन्, काम गरेर देखाउने प्रतिनिधि हुन्। विपद्को समयमा राहत वितरणदेखि लिएर बिरामीको उपचार व्यवस्थापन, सामाजिक अभियानमा सहभागिता र व्यक्तिगत सहयोगसम्म उहाँ सक्रिय देखिनुहुन्छ। यही कारणले उहाँलाई जनताको नेता भनेर सम्बोधन गर्नेहरूको संख्या बढ्दो छ।

नेकपाले अघि सारेको स्थिरता, विकास र राष्ट्रिय स्वाभिमानको एजेन्डासँग आफू पूर्ण प्रतिबद्ध रहेको तामाङ बताउनुहुन्छ। उहाँका अनुसार राजनीतिक स्थायित्व बिना विकास सम्भव छैन, र विकास बिना समृद्धि सम्भव छैन। नुवाकोटलाई कृषि, पर्यटन, जलस्रोत र लघु उद्योगको केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन योजना पनि उहाँले सार्वजनिक गर्नुभएको छ।

निर्वाचन प्रचार–प्रसारका क्रममा गाउँदेखि शहरसम्म उत्साहजनक सहभागिता देखिएको छ। युवा, महिला, ज्येष्ठ नागरिक सबै वर्गको साथ आफूलाई मिलिरहेको उहाँको भनाइ छ। फागुन २१ गते हुने निर्वाचनमा तारा चिन्हमा मतदान गरी आफूलाई पुनः प्रतिनिधित्व गर्ने अवसर दिन मतदातासँग उहाँले आग्रह गर्नुभएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार यसपटक नुवाकोट क्षेत्र नम्बर–१ मा प्रतिस्पर्धा रोचक रहने भए पनि तामाङको जनाधार बलियो देखिन्छ। विगतका काम, सरल व्यक्तित्व र जनतासँगको निकट सम्बन्धले उहाँको जित सुनिश्चित हुने आकलन गरिएको छ।

अब निर्णय जनताको हातमा छ। तारा चिन्हमा मतदान गर्दै समृद्ध नुवाकोट निर्माणको यात्रालाई अघि बढाउने कि नबढाउने— त्यो जिम्मा मतदाताकै विवेकमा रहनेछ। तर वर्तमान माहोल र जनसमर्थनले संकेत गरिरहेको छ कि यसपटक पनि नुवाकोट क्षेत्र नम्बर–१ मा हित बहादुर तामाङको विजय यात्राले निरन्तरता पाउने सम्भावना बलियो छ।