शान्ति र गहिरो निद्रा : मालिस, जप अनुग्रह

शीर्षक देख्दा लाग्न सक्छ, मस्त निद्रा भए शान्ति हुन्छ या शान्तिपछि निद्रा । वास्तवमा यी दुई अन्योन्याश्रित अवस्था हुन् । यस लेखमा यी दुवै अवस्थालाई केन्द्रमा राखेर चर्चा गरिएको छ ।

लेखिका-सूर्यवदना घिमिरे पण्डित

 

जुनसुकै पेसा वा व्यवसायमा भए पनि हामी दिनभर व्यस्त हुन्छौँ । रातमा जति प्रगाढ निद्रा पाउँछौँ, दिनचर्या त्यति नै प्रफुल्लित हुन्छ ।

शरीर, मन र भावना स्वस्थ राख्न पौष्टिक एवं सात्त्विक खाना आवश्यक छ । खानाका साथै निद्राको भूमिका पनि अहम् हुने कुरा पूर्वीय शास्त्रहरूमा उल्लेख छ । आधुनिक विज्ञान र अनुसन्धानले पनि यही देखाएको पाइन्छ । यसर्थ आजभोलि सचेत व्यक्तिहरूले खानाको विषयमा ध्यान दिने गरेको सुनिन्छ तर सुताइ भने अक्सर मानिसको प्राथमिकतामा परेको पाइँदैन ।

यस लेखमा रातमा मस्त निद्रा पाउन गरिने केही क्रियाहरू प्रस्तुत छन् । वास्तवमा, ५–६ मिनेट पहिला सुतेर धेरै बेर छटपटाएर रात गुजार्नुभन्दा अलिकति ढिलो सुतेर तुरुन्तै निदाउनु नै बेस हो । मस्त निद्रा अर्थात् सुषुप्तिलाई परम आनन्दको अवस्था भनिन्छ । मस्त निद्रामा न महिला, न पुरुष, न राजा वा रङ्क, केही हुँदैन । यतिबेला व्यक्ति सबै बोध र बोझबाट शून्य हुन्छ ।

रातभर सुतेर उठ्दा कुनै दिन ताजा भएको र कुनै दिन नभएको अनुभव हामीलाई छ । मस्त निद्रामा मात्र ब्रह्माण्डीय ऊर्जाले शरीर, मन, भावना र चेतनालाई ताजा बनाउने रहेछ । धन, इज्जत, मान, प्रतिष्ठा जति भए पनि अनिद्रा भएमा स्मरण शक्तिमा ह्रास, अरुचिलगायत कब्जियत, तनाव, चिन्ता हुने भइहाल्यो । यिनै कारणहरूले भविष्यमा क्यान्सरसम्मका रोगको कारक तत्त्व बन्न सक्छन् भनिन्छ ।

मस्त निद्रा कसरी पाउने ?
गहिरो निद्राका लागि बेलुकाको खाना हल्का हुनुपर्छ । हामीले त्यसको पालना कति गरेका छौँ, त्यसमा भर पर्छ । नक्सा हेरेर मात्र गन्तव्यमा पुगिँदैन, हिँड्नैपर्छ । त्यसमा पनि खाना सधैँ शाकाहारी हुन सके त अति उत्तम भयो । त्यो नसके पनि बेलुकाको खाना शाकाहारी हुनैपर्ने रहेछ ।

अब सन्दर्भ जोडौँ मस्त निद्रा वृद्धि गर्ने उपायहरूको । दिनमा केही बेर घाम ताप्नु अति राम्रो मानिएको छ भने सुत्ने कोठा सकभर गाढा अँध्यारो हुनुपर्छ । निदाउन सघाउने ुमेलाटोनिनु नामक रसायन अँध्यारोमा पर्याप्त निस्कन्छ भनिन्छ । यस रसायनको नामको जानकारी नभए पनि निद्रा लाग्न सुरु गर्दा आँखामा पिरपिर अर्थात् पिरो भएको हामीलाई अनुभव छ ।

मस्त निदाउन सघाउने क्रियाकलाप
सुत्ने बेलामा नाइटो र हातगोडामा तेल लगाएर मालिस गरौँ । यसरी मालिस गर्दा चोरी, माझी र साहिँली औँलाले घडीको सुई घुमेकोतिर र साइड परिवर्तन गरेर पनि कम्तीमा एघार–एघार पटक गरौँ ।

नाभिमा तेल लगाउँदा शरीरको सबै भागमा पुग्ने रहेछ । नाभि कुण्डलिनी ऊर्जाको क्षेत्र हो । मस्त निद्रा अर्थात् सुषुप्तिमा हामीमा ब्रह्माण्डीय ऊर्जा प्रवेश गर्छ भनिन्छ । यहाँबाट नै चक्रहरूमार्फत शरीरका लागि ऊर्जाको वितरण हुने रहेछ ।

हामी भन्ने गर्दछौँ– मृग आफ्नै नाभिमा भएको कस्तुरीको बासना खोज्न अन्यत्र दौडन्छ । तर हामी पनि त्योभन्दा कम छैनौँ र त नाभिको महत्त्व कमैले बुझेका छौँ । रामायणको कथामा रावणलाई नाभिमा बाण हानेर मात्र मार्न सकिन्छ भनेर विभीषणले भने । त्यसपछि रामले रावणको नाभिमा बाण हानेर मारे भन्ने कुरा हामीले सुन्दै आयौँ । रावण र मृगको मात्र नभई हामी सबैको प्राण नाभिमा हुने रहेछ ।

यसैगरी हातगोडामा तेल लगाउनुको महत्त्व पनि नाभिमा लगाउनुभन्दा कम देखिँदैन । हातगोडाका औँलाका टुप्पाहरूमा दिमागसँग जोडिएका ऊर्जाका बिन्दुहरू हुने रहेछन् । यसैगरी हात र गोडाका पञ्जामा पेटसँग सम्बन्ध भएका बिन्दुहरू हुन्छन् ।

शरीरको संरचना हेर्दा हात र गोडाका औँला कुण्डलिनी क्षेत्रबाट सबैभन्दा टाढा पर्छन् । त्यहाँसम्म ऊर्जाको प्रवाह सरल रूपमा भएपछि अन्यत्र नपुग्ने कुरै भएन । अझै बुझ्दै जाँदा हरेक औँलाका फेदमा कुनै न कुनै इन्द्रियसँग सोझो सम्बन्ध भएको कुरा चित्रहरूमा देखाइएको हुन्छ ।

कृतज्ञता र अनुग्रह व्यक्त गरौँ
यसपछि मातापितालाई स्मरण गर्दै उहाँहरूको कारणले आफू हुनुको बोध गरौँ । पछि गएर आफू कस्तो हुन सकियो भन्ने कुरामा विभिन्न आयामहरूले प्रभाव पारेका होलान् । तर जसका पनि मातापिताले छोराछोरीलाई आफूले जानेको र सकेको गरेकै हुन्छन् ।

छोराछोरीहरूमा उहाँहरूको तन, मन, धन, समय आदि लगानीको मूल्य कुनै अनुसन्धानले निकाल्न सक्दैन । त्यसैले हरेक रात सुत्नुअगाडि उहाँहरूप्रति कृतज्ञता व्यक्त गर्नैपर्छ । यसपछि परिवारका सदस्यहरूलाई यथोचित श्रद्धा र स्नेहभाव पोखौँ ।

यसैगरी गुरु जीवनमा भाग्यले मात्र भेटिन्छन् भन्छन् । आफूले जसलाई गुरु मानिआएका छौँ, उहाँलाई अनुग्रह व्यक्त गरौँ । गुरुलाई शिष्यको समर्पण स्वीकार्ने मात्र होइन, दुःख बिसाउने पात्र पनि भनिन्छ । दिनभरका राम्रा, नराम्रा, जानेर वा नजानेर गरेका सबै काम गुरुलाई अर्पिदिऊँ । सबै कुरा बिसाउँदा मन शून्य हुन्छ । अनि मात्र निद्रादेवीलाई स्थान हुन पुग्छ ।

सुत्ने बेलामा मन्त्र जप गरौँ
सुत्ने बेलामा पहिलादेखि जपिआएको मन्त्र भए जपौँ र श्वासमा ध्यान दिने मन्त्र सुरु गरौँ । पहिलो– म खुसी छु । दोस्रो– म स्वस्थ छु । तेस्रो हो– म शान्त छु । यसलाई जप्न, श्वास भित्र जाँदा ‘म’ र बाहिर जाँदा ‘खुसी छु’ भनी एक्काइस पटक जप्न थालौँ ।

यसपछि अर्को एक्काइस पटक भित्र श्वास जाँदा ‘म’ र बाहिर श्वास जाँदा ‘स्वस्थ छु’ भन्ने । अन्तिममा एक्काइस पटक भित्र श्वास जाँदा ‘म’ र बाहिर जाँदा ‘शान्त छु’ भन्ने । यसो गर्नाले ६३ पटक श्वासमा ध्यान दिइन्छ ।

यसरी श्वास लयबद्ध भएपछि मन हल्का हुन्छ । भाव पनि खुसीबाट शान्तिमा पुग्छ । मन वर्तमानमा रहन्छ । चञ्चलपना शून्य हुन्छ । मन भूत र भविष्यमा भाग्दैन । कल्पना र तर्कनाले दिने अशान्तिबाट मन मुक्त हुन्छ ।

शरीरका अङ्गहरूको निरीक्षण
हाम्रा इन्द्रियहरूले अह्राएको काम गर्ने कर्मेन्द्रियहरू हुन् । यिनलाई खाना र सरसफाइले मात्र प्रेम पुग्दैन । बेलुका ओछ्यानमा पुगेपछि गोडाका औँलादेखि माथिसम्मका अङ्गहरूको निरीक्षण गरौँ । भनिन्छ, अरूप्रति ध्यान दिनु प्रेम र आफूलाई प्रेम गर्नु ध्यान हो । जसलाई पनि मनका आँखाले हेर्नु भनेको प्रेम र ध्यान हो । हरेक अङ्गलाई हेर्दै उनीहरूको कामअनुसार स्नेह प्रकट गरौँ ।

यसपछि शरीर हल्का भएको, शरीर नै नभएजस्तो, झम्म लागेजस्तो हुन्छ । यतिबेला लुपुक्क सुतेपछि गहिरो निद्रामा पुगिन्छ । तर्सने, बिउँझिने, सपना देख्ने हुँदैन । यस मन्त्रलाई एक्काइस दिनसम्म लगातार जपौँ । आफूमा आएको ताजापनको अनुभव आफैँलाई हुन्छ । कसैको प्रवचन, लेख र शास्त्रको भर पर्नुपर्दैन । बाइसौँ दिनदेखि ुअब मन्त्र जप्छुु भन्ने सम्झनै पर्दैन । ओछ्यानमा पल्टनासाथ स्वाभाविक रूपमा सुरु हुन्छ ।

बिउँझिनासाथ गर्नुपर्ने काम
उठ्ने बेलामा पहिलादेखि भन्ने गरेको मन्त्र भए त्यसलाई जपेपछि सुत्नु अगाडिका मन्त्रलाई पछिल्लोबाट जप्न सुरु गर्नुपर्छ । ‘म शान्त छु’ भन्नेबाट बीचमा स्वस्थ छुु भन्दै खुसी छुु भनेर एक्काइस पटक जप्ने । याद गर्नुपर्ने कुरा के हो भने, सुत्दा शान्त छु भन्नेमा र उठ्दा खुसी छुु भन्नेमा टुङ्गिनुपर्छ । उठ्दा खुसीको भाव भएपछि दिनभरलाई सकारात्मक सोच भइरहन्छ ।

त्यसपछि शरीरका अङ्गहरूको याद गर्ने र दिनभर सक्रिय रहन अनुरोध गर्ने । दिउँसो गरिने कामको स्मरण गर्ने । अन्त्यमा मातापिता र गुरुसँग मनमनै वार्ता गर्दै आशीर्वाद पाइरहेको अनुभूति गर्ने ।

हरेक बिहान मन हल्का पारेर उठौँ । सकभर डेढ घण्टा योगाभ्यास गरौँ । व्यायाम, प्राणायाम र ध्यानले शरीर, मन, भावना र चेतनालाई ताजा बनाऊँ । कुनै दिन योगाभ्यासका लागि समयको अभाव हुन सक्छ । यस अवस्थामा ओछ्यानमा पल्टेरै उत्तानो परेर दुवै हात टाउकोदेखि माथि लगेर र दुवै हातगोडा तनक्क पारौँ ।

हातगोडा र शरीर तनक्क पार्दा मेरुदण्ड पनि तन्किन्छ र हाम्रा सातै चक्रलाई सक्रिय पार्छ । यसरी शरीर तन्काउँदा मलद्वार र तल्लो पेट पनि तन्केको हुनुपर्छ । यो काम कम्तीमा पाँच पटक, दस सेकेन्ड अडिएर गरौँ । यसरी शरीर तनक्क पार्नु पनि छोटो समयको पूर्ण व्यायाम हो । तत्पश्चात् दुई–चार पटक कान बटारौँ र मडारौँ पनि ।

निचोडमा भन्नुपर्दा, शारीरिक र मानसिक कार्यबाट विश्राम पाउन रातको मस्त निद्रा वरदान हो । कति समय सुत्ने भन्ने कुरा सबैलाई एउटै नियम लागु हुँदैन । ध्यानी, योगी र बुढाबुढीहरूलाई कम समयको निद्राले पनि पुग्छ भने बच्चाहरूलाई धेरै समय सुत्नुपर्ला । वयस्कहरूलाई आफ्नो शरीरको आवश्यकतामा भर पर्छ ।

स्वस्थ, खुसी र शान्त मान्छेले नै पूर्ण क्षमतामा मिहिनेत र प्रगति गर्न सक्छ । यस्तै मान्छेको पारिवारिक एवं सामाजिक सम्बन्ध प्रेमपूर्ण र सुमधुर हुन्छ । निद्रालाई नजरअन्दाज गर्ने भूल कहिल्यै नगरौँ ।

निद्राको सेरोफेरोमा नै शरीर, मन र दिमागका खुराक अर्थात् रसायनहरू उत्पादन हुने रहेछन् । यस विषयमा अध्ययन गरौँ, बुझौँ र अनुभव गरौँ । जिन्दगीलाई जेनतेन घिसारेर होइन, प्रेमपूर्ण बनाएर जिउन सिकौँ ।

 

 

रातोपाटीबाट साभार