पाकिस्तान र अफगानिस्तानबिच जारी सैन्य द्वन्द्वमा हालसम्म ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने दुवै पक्षका गरी ५०० भन्दा बढी जना घाइते भएका छन्। दुवै देशले एकअर्कालाई थप सैन्य कारबाहीको धम्की दिइरहेका छन्।
विवाद के हो?
पाकिस्तान र अफगानिस्तानबिच डुरेन्ड रेखाका विषयमा लामो समयदेखि विवाद छ।
दुवै देशले एकअर्कालाई आक्रमण गरेको तथा आतंककारीरूलाई आश्रय दिएको आरोप लगाइरहेका छन्।
सन् २०२१ मा अफगानिस्तानको सत्ता तालिबानले नियन्त्रणमा लिएयता पाकिस्तानसँग द्वन्द्व बढेको हो।
यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यस विषयमा प्रतिक्रिया दिएका छन्।
उनले भनेका छन्, ‘पाकिस्तान र अफगानिस्तानबिच जारी द्वन्द्वमा अमेरिकाले हस्तक्षेप गर्न सक्छ, तर मेरो पाकिस्तानसँग राम्रो मित्रता छ।’
पाकिस्तानी सैन्य प्रवक्ताले देशमा आतंकवादी हमलाका पछाडि भारतको हात रहेको आरोप लगाएका छन्।
पाकिस्तान र अफगानिस्तानबिच बिहीबार रातिदेख लडाइँ भइरहेको हो।
अफगानिस्तानले यही फेब्रुअरी २२ मा पाकिस्तानी हवाई आक्रमणको बदला लिएपछि दुई देशबिच हानाहान भइरहेको हो।
२७४ तालिबान लडाकु मारिएको दाबी
पाकिस्तानी सेनाका प्रवक्ता अहमद सरिफ चौधरीले अहिलेसम्म २७४ तालिबानी लडाकु मारिएको दाबी गरेका छन्। साथै ४०० जनाभन्दा बढी घाइते भएको उनले बताएका छन्।
उनले भनेका छन्, ११५ ट्याङ्क र बख्तरबन्द गाडी र ७४ चेकपोइन्ट ध्वस्त पारिएका छन्। अनि १८ चेकपोइन्ट पाकिस्तानी सेनाले कब्जा गरेको छ।
यस्तै पाकिस्तानले आफ्ना पनि १२ सैनिक मारिएको र २७ जना घाइते भएको बताएको छ।
उता तालिबानले आफ्ना ८ देखि १३ लडाकु मात्र मारिएको र केही घाइते भएको दाबी गरेको छ।
उसले ५५ पाकिस्तानी सैनिक मारिएको र दुई सैन्य मुख्यालयसहित धेरै चेकपोइन्ट कब्जा गरिएको दाबी पनि गरेको छ।
पाकिस्तानले थप आक्रमण सुरु गरे झन् कडा जवाफ दिइने चेतावनी तालिबानले दिएको बीबीसीले जनाएको छ ।