सिन्धुपाल्चोक/चुनावी सरगर्मीले देशका गाउँ–सहर तातिरहेका बेला हामीले केही दिनअघि फिल्डमै पुगेर वास्तविक माहोल बुझ्ने अठोट गरेका थियौँ। कहाँबाट यात्रा सुरु गर्ने भन्ने अन्योलबीच हामीसम्म आएका असंख्य सन्देशहरू—सिन्धुपाल्चोकभित्र र जिल्ला बाहिर रहेका शुभेच्छुकहरूको चासो, उत्साह र सुझाव—हाम्रा लागि मार्गनिर्देशक बने। जनअपेक्षाको त्यही आवाजलाई आधार मानेर हामी पुग्यौँ सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर–१ मा, जहाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवार रहनुभएका माधव सापकोटा ‘सुबोध’ चुनावी मैदानमा हुनुहुन्छ।
जिल्लाको सीमाना नाघेर राष्ट्रिय राजनीतिमा सक्रिय पहिचान बनाउन सफल सापकोटाले अघिल्लो कार्यकालमा केवल ३३ महिनामै संसद बैठकमा ९५ प्रतिशत उपस्थिति जनाउँदै अनुशासित र प्रतिबद्ध सांसदको उदाहरण प्रस्तुत गर्नुभएको थियो। संसदमा उठाउनुभएका जनसरोकारका प्रश्नहरू, विकासका मुद्दामा देखाउनुभएको निरन्तर सक्रियता र बहसयोग्य उपस्थिति उहाँलाई केवल सांसद मात्र होइन, जिम्मेवार र उत्तरदायी राजनीतिक व्यक्तित्वका रूपमा स्थापित गर्ने आधार बनेका छन्। यिनै कारणहरूले हामीलाई उहाँकै चुनावी अभियानबाट यात्रा आरम्भ गर्ने निर्णयमा पुर्यायो।
फागुन १३ गते, बुधबार, चुनावी लयसँगै हामी बारविसे पुग्यौँ। बिहान ८ बजे त्यहाँ पुग्दा दिनभरको यात्राले शरीर थकित थियो, तर मन उत्सुक थियो। उम्मेदवारको खोजी गर्दा उहाँ पिस्करतिर चुनावी भेटघाटमा रहेको जानकारी पाइयो। चुनावको दौडधुप स्वाभाविक थियो। भोलिपल्ट फागुन १४ गते बिहान ८ बज्न नपाउँदै बजारमा चुनावी चहलपहल बढिसकेको थियो। गाउँतर्फ जाने तयारीमा उम्मेदवारको टोली बिस्तारै जम्मा हुँदै थियो। ठीक ८:४१ बजे पोखरे टोल, बारविसे–९ बाट यात्रा सुरु भयो।
त्यहाँ मतदाताका अनुहारमा केवल जिज्ञासा मात्र होइन, सहभागी हुन पाएको उत्साह झल्किन्थ्यो। “मतदाता भेटघाट र सुझाव संकलन” भन्ने नामकरण आफैंमा अर्थपूर्ण लाग्यो। यहाँ केवल दुई हात जोडेर भोट माग्ने शैली थिएन; प्रश्न थिए, बहस थियो, र विश्वास बोकेर अघि बढ्ने प्रयास थियो। भिरकुना, राम्चे, कोटगाउँ हुँदै हामी सहेले र साहुवेँसी पुग्यौँ। उम्मेदवारभन्दा केही अघि पुगेर स्थानीयसँग कुराकानी गर्दा थाहा भयो—करिब २५० मतदाता रहेको यस भेगमा संघीय चुनावका उम्मेदवार पहिलो पटक पुगेका रहेछन्। “हामीकहाँ संघीय उम्मेदवार कहिल्यै आएका थिएनन्,” भन्ने वाक्यले त्यहाँको यथार्थ स्पष्ट पार्थ्यो। स्थानीयहरू उत्साहित देखिन्थे; समस्याहरू खुलस्त राखे र समाधानका लागि विश्वास व्यक्त गरे।
मानेश्वरा, धुम्थाङ हुँदै साङवारी (वडा–८), डाँडागाउँ (वडा–७) र अमलडाँडासम्म पुग्दा रातको आठ बज्न लागेको थियो। तर भेटघाट रोकिएन। राति पनि गाउँगाउँका मतदाता आफ्ना समस्या बोकेर प्रतीक्षामा थिए। बाटो, पुल, शिक्षा, कृषि र रोजगारीका विषय खुलेर उठे। सापकोटाको शैली थोरै बोल्ने, गर्न सकिने कुरा मात्र गर्ने, आश्वासन होइन उत्तरदायित्व बाँड्ने देखिन्थ्यो। ८४ वर्षीय चेतनाथ पौडेल काठमाडौंबाटै प्रचारका लागि आइपुग्नुभएको थियो। “हामीलाई तपाईंको जित तपाईंलाई भन्दा बढी चिन्ता छ,” उहाँको यो भनाइले माहोल भावुक बनायो। अपाङ्गता भएका विष्णु भण्डारीसँगै बसेर समस्या सुन्ने र समाधान खोज्ने प्रतिबद्धताले उम्मेदवारप्रतिको विश्वास अझ बलियो बनायो।
कतिले मुस्कुराउँदै सोधे, “तपाईं सुवोध कि सुवोधको दाइ?” चिनजान यति गहिरो थियो कि नामले पनि संवाद खोल्थ्यो। पार्टी प्रवेशका कार्यक्रम भए, आत्मीय स्वागत भयो। चुनाव चिन्ह परिवर्तनबारे प्रश्न आयो, र सरल भाषामा बुझिने गरी उत्तर दिइयो। साथमा समानुपातिक तर्फका उम्मेदवार लालकान्छा तामाङ, प्रदेश सांसद र अन्य सहयात्रीहरूको उपस्थिति उल्लेखनीय थियो। निम्फुन्जु शेर्पा र बार्हबिसेका पूर्व मेयरको उपस्थितिले मतदातामा थप भरोसा जगाएको देखिन्थ्यो। युवाहरूको सक्रिय सहभागिताले चुनावी माहोल उत्साहपूर्ण बनाएको स्पष्ट थियो।
ज्याम्लिङ गाउँमा मतदाताले यसपटक गाउँ एकजुट भएर मतदान गर्ने निर्णय सुनाए। विगतमा एकता अभावले पछाडि परेको अनुभूति अब संकल्पमा परिणत भएको थियो। गुम्बा निर्माणको आवश्यकता, सहकार्य र विकासको प्रस्तावबारे करिब एक घन्टा बहस, प्रश्न र निष्कर्षपछि गाउँलेहरूले सकारात्मक नतिजाको भरोसा दिलाए। महिला दिदीबहिनीहरू पनि उर्जाशील रूपमा आफ्ना धारणा राखिरहेका दृश्य प्रेरणादायी थियो।
उम्मेदवारले मतदातासँग आग्रह गर्नुभयो, “खबरदारी गर्नुहोस्, शंका गर्नुहोस्, तर विश्वासका साथ निर्णय लिनुहोस्।” प्रश्न–बहस–निष्कर्षको यो शैली चुनावी संस्कारको भव्य र सभ्य उदाहरण जस्तो लाग्यो। हामी शारीरिक रूपमा थकित थियौँ, तर मतदाताले दिएको ऊर्जाले हामीलाई पनि ताजा बनाइरहेको थियो। राति करिब ८:३० बजे बारविसे फर्कियौँ, तर उम्मेदवार भने पुनः अर्को कार्यक्रममा लागिसक्नुभएको थियो।
यसरी संसदमा सिन्धुपाल्चोकका विकास, विपत्ति र किसानका मुद्दा सशक्त रूपमा उठाउँदै आएका माधव सापकोटा ‘सुबोध’ फागुन २१ को निर्वाचनमा प्रतिनिधि सभा क्षेत्र नम्बर–१ का उम्मेदवार हुनुहुन्छ। एक दिनको यात्राले देखायो—यो केवल चुनावी भ्रमण होइन, भरोसाको पुनःस्थापना हो। प्रतिस्पर्धीमध्ये सबैभन्दा कान्छा उम्मेदवार भएकाले युवा पुस्ताको रोजाइ बन्ने आधार पनि बलियो देखिन्छ।
यात्राको अन्त्यमा महसुस भयो—सिन्धुपाल्चोकका मतदाता फेरि उहाँलाई संसदमा देख्न चाहन्छन्। जसरी पहिलो कार्यकालमा संसदलाई सक्रिय बनाएका थिए, त्यसरी नै अब जिल्लालाई विकास र समृद्धिको नयाँ उचाइमा पुर्याउने अपेक्षासहित मतदाता कम्मर कसेर लागेका छन्। लोकतन्त्रको यो महोत्सवमा जनताको निर्णय नै अन्तिम हुन्छ, तर यसपटक सिन्धुपाल्चोक–१ मा विश्वास, अनुभव र युवा ऊर्जा एकसाथ उभिएको दृश्य स्पष्ट देखिन्छ। माधव सापकोटा ‘सुबोध’लाई हाम्रो तर्फबाट शुभकामना।
कृष्णप्रसाद धिताल ( चिरिच्याट्ट )