काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार (एनआरएनए)का अध्यक्ष कृष्ण पन्थीले एनआरएनए आइसीसीले मध्यपूर्व क्षेत्रलाई जहिल्यै पनि ‘भोट बैंक’का रूपमा प्रयोग गर्दै आएको आरोप लगाएका छन् ।
उनले मध्यपूर्वमा हाल विषम परिस्थिति कायम रहेका बेला पनि आइसीसीले प्रतिनिधि (डेलिगेट्स) चयन प्रक्रियामै केन्द्रित रहेको भन्दै यसले मध्यपूर्व क्षेत्रलाई जहिल्यै पनि भोट बैंकको रूपमा प्रयोग गर्दै आएको पुष्टि भएको बताए ।
‘एनआरएन आइसीसीले मध्यपूर्वलाई जहिल्यै पनि भोट बैंककै रुपमा प्रयोग गर्दै आएको कुरा हामी बारम्बार सुन्ने गरेको थियौं । अहिले मध्यपूर्वमा विषम परिस्थिति चलिरहेको अवस्थामा पनि उहाँहरुले डेलिगेट्स फाइनल गर्ने, डेलिगेट्स कोही छुटेमा छिटो पठाउनुस् भन्ने आदी कुराहरु गरिरहनु भएको छ । डेलिगेट्समै रुमलिने गरेको देख्दा साँच्चिनै एनआरएनएले मध्यपूर्वलाई हेर्ने नजरिया अहिले आएर प्रमाणित भएको उहाँहरुको एक्सनले प्रष्ट देखाएको छ ।’
पन्थीले अधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्न आतुर देखिनु र मध्यपूर्वमा कार्यरत लाखौं नेपाली श्रमिकहरूको भावनामाथि खेलवाड गर्नु खेदजनक भएको बताए ।
‘उहाँहरुले खासै मध्यपूर्वलाई ध्यान नदिएको र डेलिगेट्स छिटो गरेर अधिवेशन नै सोही मितिमा गर्न आतुर भएको र मध्यपूर्वका श्रमिकका भावनासँग खेलबाड गरेको जस्तो देखियो । यो खेदपूर्ण छ । कसरी हुन्छ २०–२१ लाख नेपालीहरुलाई यही परिस्थिति रहेमा अरु देश सँगसँगै या त्यो भन्दा पहिला सुरक्षित रूपमा पुनरागमन गर्नुपर्ने अवस्था आउन सक्छ । त्यसका लागि नेपाल सरकारसँग समन्वय गरी स्पष्ट मेकानिजम बनाउनुपर्नेमा खाली डेलिगेट्स नै भनेर बस्दा एनआरएनआइसीसीले मध्यपूर्वलाई हेर्ने नजरिया पुष्टि भएको छ ।’