धेरै वर्षदेखि हामी नोम चोम्स्कीलाई वैश्विक शक्तिको नैतिक कम्पास ठान्दै आयौँ । उनी भाषाविद् एवं दार्शनिक हुन् । त्यसका अलावा उनले ‘प्रोपोगान्डा’ तथा व्यापारिक निगमहरूको नियन्त्रणजस्ता विषयको भन्डाफोर गर्दै आएका छन् ।
सिङ्गो साम्राज्यको विरुद्ध हठी वागीको रूपमा आफूलाई उभ्याएका छन् । धेरैका लागि उनी अमेरिकी उद्योगहरूले उत्पादन गरेका कथित सपनाहरूको भिडमा प्रस्टता दिने मान्छे थिए । शक्तिशाली व्यक्तिका स्वार्थको सेवा गर्न तयार गरिएका भाष्यहरू खोतलेर देखाइदिने व्यक्ति थिए ।
एपस्टिन फाइलको पछिल्लो किस्तामा सार्वजनिक भएका दस्तावेज तथा तस्बिरहरूमा चोम्स्कीको नाम र फोटो पनि भेटियो । जेफ्रे एपस्टिनसँग उनको सम्बन्ध रहेको देखियो ।
यौन हिंसाका आरोपित एपस्टिनका इमेल, क्यालेन्डर तथा तस्बिरहरू मार्फत शक्तिशाली व्यतिहरूको व्यापक जालो खुल्दै गयो ।
फाइलमा पाइएका केही तस्बिरमा एपस्टिन र चोम्स्की पनि साथमै देखिए ।
यस्तो खुलासाले धेरै मानिस आश्चर्यमा मात्रै परेनन्, असाध्यै असहज समेत अनुभव गरे । तस्बिरहरू सार्वजनिक हुँदैमा उनी कुनै आपराधिक व्यवहारमा संलग्न भएकै थिए भन्ने त पक्कै होइन । त्यस्ता कुनै आरोप पनि छैनन्, तर आफूलाई नैतिक आदर्शको उचाइमा राखेका व्यक्तिले समाजको कुरुप पात्रसँग राखेको निकटताले केही प्रश्न भने पक्कै पनि उठाएकै छ । हामीले बौद्धिक नायकहरूलाई गर्ने प्रशंसामै कतै समस्या त छैन भन्ने सवाल खडा भएको छ ।
बौद्धिक आदर्शहरूको नैतिक असफलता
उनीबारे आएका खबरहरूले नैतिक द्विविधा सिर्जना गरेको छ । सर्जक तथा लेखकहरूका व्यक्तिगत छनोटहरूले हामीलाई विचलित पार्दा पनि उनीहरूका सिर्जनाहरू पढ्नु, हेर्नु वा गम्भीरता साथ लिनु ठिक हो कि होइन भन्नेबारे लामो समयदेखि बहस छ । मुख्य समस्या सर्जक र सिर्जनामा को धेरै टिक्छ भन्ने होइन, तर जब सर्जक वा लेखकनै आफ्नो अडान वा प्रस्तुत मान्यताबाट च्यूत हुँदा त्यसलाई देख्न सक्छौँ कि सक्दैनौँ भन्ने हुने रहेछ ।
अहिलेसम्म कुनै पनि प्रमाण अनुसार चोम्स्कीले एपस्टिनका आपराधिक क्रियाकलापमा संलग्न भएको वा त्यसलाई समर्थन गरेको संकेत गरेको छैन, तर पनि एपस्टिनको साथमा उनका तस्बिरले नै धेरै हलचल ल्याइसकेको छ ।
हामी यहीँनिर हाम्रासामु अप्ठ्यारो प्रश्न आइपुग्छ, जुन चिन्तकको नैतिक प्राधिकार शक्तिको आलोचनामा उभेको छ, उसकै छनोटहरू त्यस्तै नैतिक गडबडीमा अल्झिएको देख्दा पनि हामीले उसलाई सुन्ने कि नसुन्ने होला ?
अहिलेसम्म कुनै पनि प्रमाण अनुसार चोम्स्कीले एपस्टिनका आपराधिक क्रियाकलापमा संलग्न भएको वा त्यसलाई समर्थन गरेको संकेत गरेको छैन, तर पनि एपस्टिनको साथमा उनका तस्बिरले नै धेरै हलचल ल्याइसकेको छ । प्रशंसा सकिएर जबाफदेहिता सुरु हुने अवस्थामा पक्कै पनि बेचैनी हुनेरहेछ ।
चोम्स्कीको पक्षमा बोल्नेहरू अझै पनि एपस्टिन जस्तो विवादास्पद व्यक्तिसँग सम्बन्ध हुँदैमा कुनै नैतिक अपराध भनिहाल्न नमिल्ने दावी गर्न सक्छन् । पक्कै पनि बौद्धिक अन्तक्र्रिया असहज स्थानमा पनि हुन सक्छ ।
विचारलाई त्यसको सत्य र सामर्थ्यको कसीमा जाँच्नुपर्छ, त्यसमा संलग्न व्यक्तिहरूको प्रतिष्ठामा जोड्नु हुँदैन भन्ने दाबी गर्न सक्छन् । फरक मत राख्नेलाई चुप लगाउने काम नै राजनीतिक हतियार भएको अहिलेको समयमा त्यस्तो तर्कको समर्थन गर्न पनि नसकिने होइन, तर त्यसो गर्दा एउटा कठिन सत्यको बेवास्ता हुन्छ । त्यो होः प्रभावशाली व्यक्तिका छनोटहरू पनि जिम्मेवार हुनुपर्छ ।
चोम्स्कीले अन्तक्र्रिया गर्दै गर्दा एपस्टिन कुनै अपरिचित पात्र थिएनन् । उसको विगत र पृष्ठभूमि विदितै थियो । विभिन्न रूपमा दोषी ठहरिइसकेको भएता पनि उसको सम्पत्ति र प्रभाव यथावतै थियो ।
यस्तै प्रणालीको विरोधमा चोम्स्कीले दशकौँसम्म प्रश्न उठाउँदै आएका थिए । पैसाले विश्वसनीयता खरिद गर्ने, निकटताले आक्रोश मत्थर पार्ने तथा नैतिक असफलतालाई बौद्धिक विलक्षणताको रूपमा प्रस्तुत गर्ने रवैयाको भण्डाफोर गर्दै आएका थिए ।
एपस्टिनको बुद्धि तथा जिज्ञासाको प्रशंसा गरेको पाइयो ।
त्यतिमात्रै नभएर विभिन्न समयमा निम्तो स्वीकार गरेको पनि देखियो । यी तमाम खुलासाले एउटा जबर्जस्त नैतिक प्रश्न खडा गरेको छः उनले यस्तो किन गरे ? हिंसा एवं दमनको प्रणालीबारे त्यति धेरै बुझेको मान्छेले पनि आफैँले सङ्गत गरेको व्यक्तिको नैतिक धरातलको बेवास्ता किन गरेको होला रु यसले हामीलाई बौद्धिक प्राधिकारको मूल्याङ्कन कसरी गर्ने भन्ने प्रश्न तेर्स्याइदिन्छ ।
व्यवहारवादीहरू चोम्स्कीले एपस्टिनसँग भेटघाट तथा बहस गरेर पनि शक्तिको विश्लेषणकै लागि काम गरेको तर्क गर्न पनि सक्छन्, तर अभिजात वर्गका लागि एपस्टिनको प्रभाव कुनै अर्थमा पनि एकाएक भएको थिएन । उसका तमाम अपराधहरूका बाबजुद सामान्य बनाइएको पहुँचको जगमा खडा भएको थियो । शक्तिशालीहरूसँगको सङ्गत मार्फत त्यसलाई नदेखिने जस्तो बनाइएको थियो ।
यो शताब्दीमा हामी कलाकारहरूबाट कलालाई अलग गर्नुपर्ने अवस्थाको सामना गरिरहेका छौँ । लेखक र कृतिलाई अलग गरेर पनि हेर्नुपर्ने हुन्छ । त्यसो गर्दा पनि चोम्स्कीको गतिविधि पाखण्डजस्तो मात्रै पक्कै देखिँदैन । ‘प्रोपोगान्डा’, मिडिया संलग्नता तथा त्यसको संस्थागत शक्तिबारे उनका आलोचनाहरू आज पनि उत्तिकै जीवन्त र महत्त्वपूर्ण रहन्छन् । मात्र चासो कहाँ हो भने, तिनीहरूले बौद्धिक प्रतिभामात्र नभएर नैतिक सुसंगतताको पनि माग गर्छन् ।
एपस्टिनको निजी विमानमा ऊसँगै खिचिएका चोम्स्कीका तस्बिरहरू देखिनु, दानवी व्यवहार भएको यौन सिकारीसँग उनको सम्पर्क चानचुने कुरा होइनन् । यी कसैगरी पनि छोप्न वा लुकाउन सकिने तथ्य होइनन् । ती तस्बिर र इमेलहरूले विकृतिका कठोर आलोचकहरू पनि उनीहरू आफैँले अध्ययन गरेको दाबी गरेका सञ्जालमा कसरी फस्न सक्दा रहेछन् भनेर देखाउँछन् ।
अहिले घोर भर्त्सना वा प्रशंसाको समय होइन । हामी अप्ठ्यारोमा छौँ, तर हामीले पक्कै केही जबाफ त दिनै पर्छ । निःसन्देह चोम्स्कीका विचारहरूको शक्ति आत्मसात् गर्नै पर्छ ।
यसले हामीलाई घोत्लिन बाध्य पारेको छ । पक्कै पनि हामीले चोम्स्कीका योगदानहरू खारेज गर्ने होइन । उनका कृतिहरू मिल्काउनुपर्ने होइन, तर अबका दिनमा उनलाई कसरी पढ्ने वा सुन्ने भन्नेबारे थप सजग हुनुपर्ने छ । पछिल्लो घटनामा लेखकको दृष्टिकोणमा समस्या देखा पर्यो भन्दैमा ‘म्यानुफ्याक्चरिङ कन्सेन्ट’को अवधारणा विघटन हुँदैन, तर बौद्धिक प्राधिकारको आडमा कुनै पनि बौद्धिक व्यक्तिलाई कहिल्यै पनि उसको दोषमाथि हुनुपर्ने छानबिनबाट भने जोगाउन मिल्दैन ।
हामी नमिठो विडम्बनमा परेका छौँ । चोम्स्की आफैँले हामीलाई प्रोपोगान्डाका रहस्यहरूबारे सिकाए । शक्तिशालीहरूको सेवाका लागि कसरी भाष्यहरू छानिएर व्यापक चर्चामा ल्याइन्छन् भन्ने पढाए । उनीहरूले नचाहेको भाष्य कसरी दबाइन्छ भन्ने देखाए, तर एपस्टाइनसँगको आफ्नो सम्बन्धका कारण उनमा केही समस्या पक्कै देखा पर्यो ।
शक्तिशाली एवं पतित व्यक्तिसँगको सङ्गतको नैतिक अर्थलाई गम्भीरतापूर्वक मनन नगरेर उनले पनि कुनै न कुनै रूपमा मौनतामै योगदान पुर्याए । त्यस्तो मौनताले वर्चस्वशाली वर्गको दण्डहीनताका कारण सिर्जना हुने वास्तविक मानवीय हानिलाई लुकाउन सघाउँछ ।
अहिले घोर भर्त्सना वा प्रशंसाको समय होइन । हामी अप्ठ्यारोमा छौँ, तर हामीले पक्कै केही जबाफ त दिनै पर्छ । निःसन्देह चोम्स्कीका विचारहरूको शक्ति आत्मसात् गर्नै पर्छ ।
हामीले उनको जीवनका छनोटहरू पनि उनका विचारसँगै राखेर हेर्न चुक्नु हुदैन । उनका योगदान र गल्ती दुवैको अध्ययन र समीक्षा हुनुपर्छ । त्यसो गर्दामात्रै हाम्रो प्रशंसा पनि परिपक्क हुन सक्छ । सम्मान पनि सार्थक हुन सक्छ ।
द प्रिन्टलाई उद्धृत गर्दै रातोपाटीमा प्रकाशित सामाग्री साभार