ललितपुर । नेपाली कांग्रेसका सह–महामन्त्री एवम ललितपुर क्षेत्र नम्बर १ का उम्मेदवार उदय शमशेर राणाले यस पटकको परिणाम सोचेभन्दा फरक आएको प्रतिक्रिया दिएका छन् ।

राणाले निर्वाचन परिणाम अपेक्षाभन्दा प्रतिस्पर्धात्मक भएको पनि बताए । ‘सोचेको भन्दा बढी टाइट छ निर्वाचनको नतिजा । तर म मेरो क्षेत्रबाट विजयी हुन्छु भन्नेमा विश्वास छ,’ उनले भने ।

राणाले ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको संगठन बलियो रहेको र स्थानीय तहमा पनि पार्टीले उल्लेख्य सफलता हासिल गरेको बताए । ‘हामीले धेरै स्थानीय तह जितेका छौं । जनप्रतिनिधिले पनि यस क्षेत्रमा काम गरेका छन् । मैंले पनि यहाँका नागरिकको दुःखसुखमा सधैं साथ दिएको छु र मेरो छविमा कुनै दाग लाग्न दिएको छैन,’ उनले भने ।

साथै उनले केन्द्रिय राजनीतिको प्रभावले निर्वाचनको परिणाम प्रभावित हुने अवस्था सिर्जना भएको पनि उल्लेख गरे । ‘विशेष महाधिवेशन नगरेको भए हाम्रो परिस्थिति झन खुम्चिन्थ्यो । निर्वाचनको मुखमा विशेष महाधिवेशन गर्न बाध्य भयौं,’ उनले भने ।

उनले पार्टीभित्रको आन्तरिक विवादका कारण चुनावी तयारीमा अपेक्षित ध्यान दिन नसकिएकाले यो अवस्था सिर्जना भएको बताए ।

‘हामी चुनावभन्दा पनि आन्तरिक विवादमा अल्झियौं । मंसिरमै विशेष महाधिवेशन टुंग्याएको भए ‘परिवर्तित कांग्रेस’ अथवा ‘नवीन कांग्रेस’को सन्देश जनतामा राम्रोसँग लैजान सकिन्थ्यो,’ राणाले भने । पछिल्लो परिणाम अनुसार राणाले आफ्नो क्षेत्रमा अग्रता लिएका छन् ।