विष्णु पौडेलको आग्रह : निर्वाचनको परिणामबाट विचलित नहुनुस्

bisnu poudel

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले निर्वाचनको परिणामबाट विचलित नहुन पार्टीका कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
शनिबार सामाजिक संजालमार्फत उपाध्यक्ष पौडेलले राजनीतिको यात्रा लामो भएकाले अहिलेको निर्वाचनको परिणामबाट विचलित नहुन आग्रह गरेका हुन् ।

‘पार्टीका सम्पूर्ण कमरेडहरूलाई मेरो एउटै आग्रह छ, निर्वाचनको यो परिणामबाट कत्ति पनि विचलित नहुनुहोस् । राजनीति एउटा लामो यात्रा हो, जहाँ उतारचढाव आइरहन्छन्,’ उनले लेखेका छन् ।

उनले विगतमा भएका कमजोरको गम्भीर समीक्षा गर्न र जनअपेक्षा अनुसार आफैंलाई रूपान्तरण गर्न राष्ट्रको सेवामा समर्पित भइरहने प्रतिबद्धता व्यक्त गरे ।

उनले लेखेका छन्, ‘विगतमा हाम्रातर्फबाट भएका गल्ती कमजोरीको गम्भीर समीक्षा गर्न, जनअपेक्षा अनुसार आफैंलाई रूपान्तरण गर्न र एमालेको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षा अनुरूप पुनर्गठन गर्न अग्रसरता लिने र अविचलित भएर जनता र राष्ट्रको सेवामा समर्पित भइरहने प्रतिबद्धता व्यक्त गर्दछु ।’

लोकतन्त्रको सुन्दरता नै जनताको अभिमत रहेको उल्लेख गर्दा रुपन्देही २ का मतदाताको फैसलालाई सविनय र सहर्ष स्वीकार गरेका छन् ।
आफू पदमा रहे नरहे पनि रुपन्देहीको विकास समृद्धि र मतदाताको दु:खमा साथ र सक्रियता सधै निरन्तर रहने दाबी गरे ।