सरकारद्वारा गौरीबहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनको तयारी

काठमाडौं । सरकारले गौरी बहादुर कार्की नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदनलाई सोझै कार्यान्वयनमा लैजाने तयारी थालेको छ। स्रोतका अनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकबाट उक्त प्रतिवेदन कार्यान्वयनमा ल्याउने निर्णय गर्दै सम्बन्धित अनुसन्धान तथा कानुनी निकायहरूलाई आवश्यक निर्देशन दिने तयारी भइरहेको छ।

प्रधानमन्त्री शुसिला कार्कीले  आयोगको प्रतिवेदन बुझेलगत्तै त्यसको कार्यान्वयनबारे उच्चस्तरीय छलफल सुरु गरेकी छन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रतिवेदन कार्यान्वयनका लागि कानुनी र प्रशासनिक पक्षबारे आवश्यक तयारी भइरहेको छ, जसका आधारमा आगामी मन्त्रिपरिषद् बैठकबाट औपचारिक निर्णय हुने सम्भावना रहेको बताइएको छ।

यसै क्रममा प्रधानमन्त्री कार्कीले प्रतिवेदन बुझेकै दिन प्रधानमन्त्री निवास बालुवाटारमा गृहमन्त्री ओम प्रकाश अर्याल र कानुनमन्त्री अनिल कुमार सिन्हा  लगायतका मन्त्रीहरूसँग विस्तृत छलफल गरेकी थिइन्। छलफलका क्रममा प्रतिवेदनमा उल्लेख भएका विषयहरूलाई कसरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भन्ने विषयमा विशेष ध्यान दिइएको बताइएको छ।

त्यसैगरी प्रधानमन्त्री कार्कीले केही कानुन व्यवसायी तथा विज्ञहरूसँग पनि परामर्श गर्दै प्रतिवेदन कार्यान्वयनको कानुनी प्रक्रिया र सम्भावित प्रभावबारे सुझाव संकलन गरेकी छन्। सरकार प्रतिवेदनमा उठाइएका विषयहरूलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्दै आवश्यक कदम चाल्ने तयारीमा रहेको स्रोतले जनाएको छ।