नेपाललाई सन् २०३० सम्ममा एक विकसित, समृद्ध र सुखी राष्ट्रका रूपमा रूपान्तरण गर्नका लागि केही आधारभूत क्षेत्रहरूमा गम्भीर रूपमा ध्यान दिन आवश्यक देखिएको छ । यदि यी क्षेत्रहरूलाई योजनाबद्ध ढङ्गले सुधार र व्यवस्थापन गर्न सकियो भने नेपालले आर्थिक, सामाजिक र विकासका दृष्टिले ठूलो फड्को मार्न सक्छ।
कृषि क्षेत्रको विकास
सबैभन्दा पहिले, कृषि क्षेत्र नेपालको अर्थतन्त्रको प्रमुख आधार हो । तर अहिले पनि नेपालले आफ्नो कृषियोग्य जमिनको पूर्ण उपयोग गर्न सकेको छैन । आधुनिक प्रविधिको अभाव, पर्याप्त सिँचाइको व्यवस्था नहुनु तथा दुर्गम क्षेत्रबाट सहरसम्म कृषि उत्पादन सहज रूपमा ढुवानी गर्न नसक्नु मुख्य समस्याका रूपमा रहेका छन् ।
एक अध्ययनअनुसार नेपालको धेरैजसो माटोमा जैविक पदार्थ एक प्रतिशतभन्दा कम पाइने गरेको छ, जुन निकै चिन्ताजनक विषय मानिन्छ । त्यसैले कम्पोस्ट मल, जैविक मल तथा बायो –फर्टिलाइजरको प्रयोग बढाएर माटोको जैविक तत्व कम्तीमा तीन प्रतिशतसम्म पु¥याउने लक्ष्य लिनु आवश्यक रहेको छ । यसले माटोको उर्वरता बढाउनुका साथै रासायनिक मल र विषादीको प्रयोग पनि घटाउन मद्दत पु¥याउँछ ।
दीर्घकालीन रूपमा आत्मनिर्भरता र निर्यात वृद्धि गर्न नेपालले धान, गहुँ, मकै, मुंग दाल, कोदो, फापर, लसुन, अदुवा, बेसार, गुड, स्पाइरुलिना, एलोभेरा, सिस्नु, मोरिंगा, कालो अलैंची लगायतका कृषि उत्पादनमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । साथै यार्सागुम्बा, चिराइतो, हर्रो–बर्रो, टिमुर, तितेपाती, जेष्ठमधु जस्ता औषधीय जडीबुटीहरूको उत्पादन र संरक्षणमा जोड दिनुपर्ने आवश्यकता देखिन्छ । आधुनिक खेती प्रविधि, ड्रिप सिँचाइ प्रणाली, उच्च उत्पादन दिने बीउ तथा जलवायु अनुकूल बीउ प्रयोग गर्न सके कृषि उत्पादन उल्लेखनीय रूपमा बढ्न सक्छ ।
विज्ञहरूका अनुसार यदि नेपालले कृषि आयात घटाउन सक्यो भने वार्षिक करिब ४०० अर्ब रुपैयाँसम्म बचत गर्न सक्ने सम्भावना छ ।
पर्यटन क्षेत्रको बिकास
पर्यटन क्षेत्रलाई पनि नेपालको प्रमुख आम्दानीको स्रोतका रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ । उचित योजना, पूर्वाधार विकास र प्रभावकारी प्रचारप्रसार गर्न सकियो भने नेपालमा सन् २०३० सम्म थाइल्याण्ड जत्तिकै धेरै पर्यटक भित्र्याउन सकिने सम्भावना छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याई निजी वा अन्तर्राष्ट्रिय व्यवस्थापनलाई जिम्मा दिनुपर्छ। पोखरामा होटल, रेस्टुरेन्ट तथा मनोरञ्जन केन्द्रहरूलाई २४ घण्टा सञ्चालनको अनुमति दिने, सुरक्षित यातायात व्यवस्था गर्ने तथा भारत र चीनबाट सीधा उडान बढाउने कदमले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्न सकिन्छ।
फेवाताल र बेगनास तालमा जलक्रीडा, साहसिक खेलकुद तथा नयाँ पर्यटकीय संरचनाहरू निर्माण गर्न सके पर्यटकहरूको बसाइ अवधि पनि बढ्न सक्नेछ । साथै लुम्बिनीलाई विश्वकै महत्वपूर्ण धार्मिक पर्यटन केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता छ ।
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याएर थाइल्याण्ड, म्यानमार, कम्बोडिया, श्रीलंका, जापान तथा चीनबाट आउने बौद्ध पर्यटकलाई सहज वातावरण प्रदान गर्नुपर्छ । यसका साथै सगरमाथा आधार शिविर, अन्नपूर्ण क्षेत्र, मुस्ताङ, मनाङ, चितवन, बर्दिया, लाङटाङ, जनकपुर, रारा, इलाम, नागरकोट, धुलिखेल, नमोबुद्ध लगायतका पर्यटकीय स्थलहरूको अन्तर्राष्ट्रिय प्रचारप्रसार गर्न आवश्यक छ ।
महाशिवरात्रि, रामनवमी, दशैं, तिहार, छठ, माघे संक्रान्ति तथा बुद्ध जयन्ती जस्ता धार्मिक पर्वहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न सके धार्मिक पर्यटनबाट ठूलो लाभ लिन सकिन्छ ।
जलविद्युत क्षेत्रको विकास
नेपालको नदी स्रोतको उचित उपयोग गरी जलविद्युत उत्पादन बढाउनु पनि अत्यन्त महत्वपूर्ण छ। कोशी, गण्डकी र कर्णाली नदी प्रणालीको उपयोग गरेर नेपालले करिब ४० हजार मेगावाटसम्म विद्युत उत्पादन गर्न सक्ने सम्भावना रहेको छ । यस्तो उत्पादन सम्भव भएमा नेपालले भारत र बंगलादेशमा विद्युत निर्यात गरी ठूलो मात्रामा विदेशी मुद्रा आर्जन गर्न सक्नेछ । यसले पेट्रोलियम पदार्थको आयात घटाउन पनि सहयोग पु¥याउनेछ ।
शिक्षा प्रणालीमा सुधार
नेपालको शिक्षा प्रणालीलाई पनि समयानुकूल सुधार गर्नुपर्ने आवश्यकता छ । अहिले धेरै अभिभावकहरूले उच्च शिक्षाको महँगो शुल्क तिर्न कठिनाइ भोगिरहेका छन् । यदि सरकारी विद्यालय तथा कलेजहरूले गुणस्तरीय र सुलभ शिक्षा प्रदान गर्न सके भने विद्यार्थी विदेश जाने क्रम घट्न सक्ने देखिन्छ । सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता, उद्यमशीलता तथा स्टार्टअपसँग सम्बन्धित विषयहरूलाई पाठ्यक्रममा समावेश गर्नु पर्छ ।
अर्कोतर्फ, रेमिट्यान्स अहिले नेपालको अर्थतन्त्रको प्रमुख आधार भए पनि यो दीर्घकालीन समाधान भने होइन । सरकारले उद्यमशीलता, स्टार्टअप, सूचना प्रविधि, आधुनिक कृषि, आयुर्वेद तथा साहसिक पर्यटन जस्ता क्षेत्रमा लगानी र अवसर सिर्जना गर्नुपर्ने आवश्यकता छ । यसका साथै विदेशी प्रत्यक्ष लगानी आकर्षित गर्न लगानीमैत्री नीति अवलम्बन गर्नुपर्ने देखिन्छ ।
नेपाल आयुर्वेदिक जडीबुटीमा धनी देश भएकाले जडीबुटीमा आधारित औषधि तथा स्वास्थ्य पूरक उत्पादनको अनुसन्धान र उत्पादन बढाउन सके निर्यात बढाउनुका साथै आयात पनि घटाउन सकिने सम्भावना रहेको छ ।
“मेड इन नेपाल” उत्पादनलाई प्राथमिकता
“मेड इन नेपाल” उत्पादनलाई प्राथमिकता दिने, सरकारी बजेटको पूर्ण उपयोग गर्ने तथा भ्रष्टाचार नियन्त्रण गर्न सकियो भने विकासका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन सक्ने विश्वास छ ।
विशेषज्ञहरूका अनुसार यी सबै योजनाहरूलाई एकैपटक कार्यान्वयन गर्न सहज नभए पनि चरणबद्ध रूपमा सही योजना, सक्षम जनशक्ति र दृढ राजनीतिक इच्छाशक्तिका साथ काम गरियो भने नेपालले निकट भविष्यमा समृद्ध र विकसित राष्ट्रको रूपमा आफ्नो पहिचान बनाउन सक्नेछ ।