गृहमन्त्री सुधन गुरुङ झण्डै दुईघण्टा देखि दुई प्रहरी प्रमुखसँग छलफल गरेका छन् । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालसँग गुरुङले छलफल गरेका छन् ।
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट फर्किए लगत्तै उनी छलफलमा रहेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार गुरुङ र दुई आईजीपीबिच जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका विषयमा छलफल चलिरहेको छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय मन्त्रिपरिषद्को पहिलो बैठकले गरिसकेको छ। मन्त्रिपरिषद्ले सुरक्षाकर्मीको हकमा तत्काल कार्यान्वयन नगर्ने तर अन्यको हकमा तत्काल कार्यान्वयन गर्ने निर्णय गरेपछि गृहमन्त्रीले सुरक्षा प्रमुखहरुसँग छलफल गरेका हुन्।
सुरक्षाकर्मीको हकमा भने अध्ययन गर्न समिति बनाउने र उक्त समितिको रायपछि मात्रै थप निर्णय लिने निर्णय भएको सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलले बताएका छन्।
तर, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको हकमा प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय भएको छ।
सरकार उनीहरुलाई तत्काल पक्राउ गरेर अनुसन्धान गर्नु पर्ने पक्षमा देखिएको छ। पदभारग्रहणपछिको पहिलो सम्बोधनमै गृहमन्त्री गुरुङले यो सरकार जेनजी आन्दोलनकै जगमा बनेकाले जेनजीको जनादेश अनुसार अगाडि बढ्ने बताए। उनले आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउँदै यसमा सहयोग गर्न सुरक्षाप्रमुखहरुलाई भनेका थिए।
‘जेनजी जनादेश बारे प्रधानमन्त्रीको निर्णय, मन्त्रिपरिषद्को निर्णय अनुसार तत्काल कार्यान्वयन गर्नपर्छ। यसमा कसैलाई छुट हुँदैन। परिवर्तनको पहिलो जिम्मा गृह मन्त्रालयले लिन्छ। त्यही अनुसार गर्नुहुन म सुरक्षा प्रमुखहरुलाई भन्छु। म धेरै बोल्दिन एक्सनमा जान्छु, रिजल्ट देखाउँछु’, गृहमन्त्री गुरुङले भने।
नेपालखबरबाट साभार
तस्बिर:अनलाइनखबरबाट