चैते दशैं र राम नवमी नेपालमा दुई तरिकाले मनाउने चलन छ

चैते दशैं बडादशैं भन्दा विषेश पर्व हो । राम नवमी र चैते दशैं एक आपसमा सम्बन्धित भएको हो ।

आज रामनवमी

राम नवमी र चैते दशैं हिन्दु धर्म अनुसार मात्र नभइ वैदिक परम्परा अनुसार नै मनाइने गरेको छ । ‘चैते दशैं र राम नवमी मनाइनु हिन्दु परम्परा मात्र होइन, वैदिक परम्परा नै हो ।

दशैं मनाउने भन्नसाथै नवरात्रसँग जोडिन्छ । नवरात्र चारवटा हुन्छन् । एउटा शारदीय, अर्को वासन्तीय नवरात्र र दुईवटा गुप्त नवरात्र हुन्छ ।

त्यो भनेको एउटा माघको शुक्ल पक्षको नवरात्र र अर्को आषाढ शुक्ल पक्षको नवरात्र हुन् । त्यसमध्ये दुईवटा गुप्त नवरात्र चाहीं मन्त्र सिद्धि वा तन्त्र सिद्धि गर्नेहरुको लागि विशेष दिन हो । शारदीय नवरात्र वा चैत्रको नवरात्र हिन्दु धर्मालम्बी र वैदिक सनातन धर्मालम्बीको लागि विशेष नवरात्र हो ।

पारम्परिक रुपमा हेर्दा ठूलो दशैँ भनेकै चैते दशैँ हो ।

वैदिक सनातन कालमा रामले रावण माथि विजय प्राप्त गरेको, आसुरी शक्ति माथि दैवी शक्तिले विजय प्राप्त गरेको वा रामको जन्मदिन र १४ वर्ष वनवास समेत सकेर अयोध्या प्रस्थान गरेको शुभमुहूर्तलाई मानेर खुशीयाली मनाउँदै, विजय दशमीका रुपमा मनाउने चलन सुरु भएको हो । त्यसकारणले शारदीय नवरात्र भन्दा यो चैत्र नवरात्र विशेष महत्वपूर्ण छ । र सांस्कृतिक रुपमा राज्यमा एकरूपता ल्याउन यो दशैं अझै विशेष छ ।

वैदिक सनातन अनुसार चैते दशैं ठूलो मानिन्छ । तर पछिल्लो समय राज्यले वडादशैंलाई विशेष बनाइदिएको छ । अर्को कुरा भनेको हावापानी, खेतीपाती लगाउने र भित्र्याउने व्यस्तता अनुसार पर्व निर्धारण गरिएको छ ।

त्यतिमात्र नभएर विदेशमा गएका अथवा बाहिरबाट नेपाल आउनेहरुको अनुकुलता वा आवतजावत गर्ने शुभ समय नभएका कारणले पनि चैते दशैंलाई विशेष रुपमा नमनाइएको हुनसक्ने अनुमान छ ।

राज्यले नै जमरा राख्ने वा फुलपाती भित्र्याउने समय तोकिदिएकाले चैते दशैंमा प्रचलनमा नल्याइएको हुनसक्ने छ ।

घटस्थापना गर्ने, घडा थाप्ने, घटस्थापनादेखि नवरात्रको पुजा गर्ने, देवी आराधना गर्ने र विशेषगरी नवमीको दिन श्रीरामको जन्मदिन भएको हुनाले रामनवमी मनाउने चलन रहेको छ ।

श्रीराम १४ वर्ष वनवासबाट फिर्ती भएको दिन पनि भएको हुनाले हर्ष उल्लासका साथ मनाउने वा रावणले अपहरण गरेर निदाएको बेलामा बेहोस बनाएर पातालमा लगेर देवीलाई बलि चढाउने योजना बनाएको प्रसंग पनि यस दिनसँग सम्बन्धित रहेको छ ।

‘त्यसबेला हनुमानको विशेष जुक्तिले घटना पत्ता लागेको र देवीको सहायता लिएर रावणकै वध गरेर राम र लक्ष्मणको मुक्ति पनि गराएको प्रसंग पनि यस पर्वसँग जोडिन्छ । त्यसैले पनि चैते दशैं विशेष दशैं हो ।

विशेष त भरत राजाले राज्य गरेको क्षेत्रलाई भारत वर्ष भनिएको र त्यो क्षेत्र भनेको नेपाल, भारत वा अन्य स्थानहरु पनि रहेकाले भारत खण्डमा राम नवमी विशेष महत्वका साथ मनाइने गरेको छ ।

वास्तवमा राम नवमीका दिन बिहानै स्नान गर्ने, पुजा कोठामा काठको एउटा पिर्का वा चौकीमाथि पहेलो बस्त्र राखेर, रामजीको मूर्ति अथवा सालिक राखेर मूर्ति अथवा फोटोको विशेष पूजा गर्ने चलन रहेको छ ।

नेपालमा आदिम कालदेखि नै चैत्र भनेको पवित्र महिना मानिने, रामको जन्म भएको महिनाका रुपमा मनाइने, रामायणको पाठ अनिवार्य गरिने, रामायणको कथा वाचन गर्ने वा पारायण लगाउने चलन रहेको छ ।

रामायणको सुरुदेखिको अन्त्यसम्मको कथालाई एउटै श्लोकमा भन्ने चलन रहेको र त्यो सबैले वाचन गर्नु उपयुक्त हुने छ ।

चैते दशैं र राम नवमी नेपालमा दुई तरिकाले मनाउने चलन रहेको छ । आर्यहरुले मनाउने तरिका एउटा छ । त्यसमा पुजारीमार्फत पूजा–पाठ अनि प्रसादीहरु चढाएर, रामको कीर्तन गरेर, पारायण लगाएर मनाउने चलन छ । अन्य केही शिकारी जातिहरुले धनुष चलाएर अथवा बलि दिएर पनि मनाउने गर्छन । राम नवमी मनाउने परम्परा नेपालमा पनि विद्यमान छ।

भारत खण्ड भित्र नै रामको जन्म भएको मानिए पनि कुनै प्रमाण आजसम्म लिखित रुपमा नपाइएको हो ।

रामको जन्मका बारेमा धार्मिक र सांस्कृतिक रुपमा विचलन आउने किसिमका कुराहरु बोल्नु उचित हुँदैन । किनभने राम अयोध्यामा जन्मेका थिए भनेर केही प्रमाणहरु पनि छन् ।

जसरी बुद्ध नेपालमा जन्मेका हुन भनिरहेका छौं ।

रामलाई पनि त्यस्तै मिथक बनाएर अथवा त्यस्तै कथा बनाएर यहाँ जन्मेका थिए भनेर एउटा कथाको आधारलाई मानिएको छ ।

किनभने राम अयोध्यादेखि जन्ती लिएर नेपाल आउन सम्भव थियो होला त भन्ने प्रश्न पनि छ । त्यसकारण कुनै एउटा नयाँ मिथक सिर्जना गरेर राम नेपालमा जन्मेका थिए भन्ने कुरामा धेरै अल्झिनु सान्दर्भिक छैन । राम भनेका साझा हुन् ।

रोशी खोला