संघर्षबीच आशा बोकेको उद्योगीको आवाज : प्रबलजंग पाण्डे

काठमाडौँ। नेपालको औद्योगिक यात्राका अनेक उतार–चढावहरूलाई प्रत्यक्ष भोग्दै आएका एक उद्योगीले आफ्नो अनुभव र पीडालाई भावनात्मक रूपमा सार्वजनिक गरेका छन्। आगामी नेपाल उद्योग वाणिज्य महासंघको निर्बाचनमा  एसोसिएटतर्फको उपाध्यक्ष पदका आकांक्षीसमेत रहेका उद्योगी प्रबल जंग पाण्डेले आफ्नो लामो संघर्षपूर्ण यात्रालाई स्मरण गर्दै वर्तमान आर्थिक तथा नीतिगत अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरेका हुन्।

पाण्डे आफूलाई २०४६ सालपछिको आर्थिक उदारीकरणदेखि हालसम्मका सबै राजनीतिक र सामाजिक परिवर्तनहरूको साक्षी उद्योगीका रूपमा चिनाउँछन्। १२ वर्षे सशस्त्र द्वन्द्व, तराई आन्दोलन, २०६२/६३ को जनआन्दोलनदेखि हालैका युवा–आन्दोलनसम्म उनले उद्योग सञ्चालनलाई निरन्तरता दिँदै आएका छन्। “हरेक आन्दोलनपछि देश रोकिन सक्छ, तर उद्योग रोकिनु हुँदैन भन्ने विश्वासका साथ म भोलिपल्टै उद्योगमा फर्किने गरेको छु,” उनको भनाइ छ।

उनका अनुसार उद्योग सञ्चालन गर्नु केवल व्यापार नभई निरन्तर संघर्षको पर्याय जस्तै बनेको छ। औषधिको मूल्य समायोजनमा वैज्ञानिक विधिको माग गर्दै अदालतमा विचाराधीन मुद्दा हुँदाहुँदै राज्यको दबाब भोग्नुपरेको अनुभव उनले सुनाए। त्यस्तै, द्वन्द्वकालमा उद्योगमा तोडफोड, धम्की र असुरक्षाबीच पनि उद्योग जोगाउनुपर्ने बाध्यता उनले झेलेका छन्।

पाण्डेले खानी सञ्चालन गर्दा नियमभित्र रहेर काम गर्दा पनि मुद्दा खेप्नुपरेको, विद्युत् ‘ट्रंक लाइन’ तथा ‘डेडिकेटेड लाइन’ सम्बन्धी विवादले वर्षौंदेखि मानसिक तनाव दिएको, र श्रम नीतिमा दोहोरो दबाब सहनुपरेको जस्ता अनुभवहरू पनि साझा गरेका छन्। “सरकारको नीतिगत अस्पष्टता र व्यवहारिक कमजोरीका कारण उद्योगी सधैं जोखिममा छन्,” उनले उल्लेख गरेका छन्।

उनका अनुसार न्यूनतम पारिश्रमिक निर्धारणदेखि लिएर कर प्रणालीसम्मका विषयमा उद्योगीहरूलाई एकैसाथ विभिन्न दबाबमा पार्ने प्रवृत्ति अझै कायम छ। राज्यको तथाकथित ‘तीन खम्बे नीति’ले पनि उद्योगमैत्री वातावरण सिर्जना गर्न नसकेको उनको गुनासो छ।

यति धेरै चुनौती र अवरोधका बाबजुद पनि पाण्डे आफूलाई ‘सधैं आशावादी उद्योगी’ का रूपमा प्रस्तुत गर्छन्। “समस्या धेरै छन्, तर सम्भावना अझ ठूलो छ,” भन्दै उनले नीति सुधार, पारदर्शिता र निजी क्षेत्रप्रति विश्वासको वातावरण बनेमा नेपालमा उद्योगको भविष्य उज्ज्वल हुने विश्वास व्यक्त गरेका छन्।

उनको अनुभव केवल व्यक्तिगत कथा होइन, समग्र नेपाली उद्योग क्षेत्रले भोगिरहेको यथार्थको प्रतिनिधित्व पनि हो। संघर्ष, अन्याय र अस्थिरताबीच पनि आशा नछोड्ने उद्योगीहरूको यही प्रतिबद्धताले नेपालको आर्थिक भविष्य निर्माण हुने अपेक्षा गरिएको छ।

प्रबल जंग पाण्डे नेपाल उद्योग वाणिज्य महासंघको निर्बाचनमा  एसोसिएटतर्फको उपाध्यक्ष पदका उम्मेदवार हुन्