सुनसरी। गरिबी, अशिक्षा र बेरोजगारी अन्त्य गर्ने उद्देश्यसहित छिमेक समाज सेवा संस्थाको आर्थिक सहयोगमा सुनसरी जिल्लाको इनरुवा नगरपालिका–३, कानुन टोलमा आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका मुसहर समुदायका लागि स्थायी बसोबासको व्यवस्था गर्न ३७ घर निर्माण गर्ने सम्झौता सम्पन्न भएको छ। कार्यक्रममा इनरुवा नगर प्रमुख केदार भण्डारी, छिमेक समाज सेवा संस्थाका अध्यक्ष राम चन्द्र जोशी, प्रबन्ध सञ्चालक उदय राज खातिवडा, छिमेक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपकनिधि तिवारी, सहायक महाप्रबन्धकहरू निकेश अधिकारी र दिपक पाण्डे, साथै लोक बहादुर कार्की र कामना जोशी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा छिमेकले केवल घर निर्माण मात्र होइन, एक समुदायको जीवनस्तर उठाउने अभियानको सुरुवात गरिरहेको भन्ने भावनात्मक सन्देश देखिएको छ । लाभग्राही समुदाय, स्थानीय सरकार, छिमेक लघुवित्त वित्तीय संस्था र छिमेक समाज सेवा संस्थाबीचको संयुक्त सहकार्यले पछाडि परेका समुदायलाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा मजबुत बन्ने देखिन्छ।
उक्त पहलले छाना विहीन र असुरक्षित जीवन बिताइरहेका परिवारहरूलाई सुरक्षित आश्रय मात्र दिने छैन, उनीहरूको आत्मसम्मान र भविष्यप्रतिको आशालाई समेत बलियो बनाउने विश्वास गरिएको छ। कार्यक्रममा सहभागीहरूले अब सहानुभूति मात्र देखाउने होइन, व्यवहारमै परिवर्तन ल्याउने हो भन्दै यस्तो सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।
समग्रमा, उक्त सम्झौताले समाजमा सबैभन्दा पछि परेका वर्गलाई मूलधारमा ल्याउने दिशामा महत्वपूर्ण सन्देश दिएको छ। छिमेक समाज सेवाले यस अघिपनि सस्थागत सामाजिक उत्तरदायित्व भन्दा माथि उठेर विभिन्न सहयोगका कार्यहरु गर्दै आइरहेको छ ।