काठमाडौँ। हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट बहुमतसहित सरकार गठन भएपछि नयाँ नेतृत्वप्रति विभिन्न क्षेत्रबाट स्वागत र अपेक्षाका स्वरहरू व्यक्त भइरहेका छन्। यसैक्रममा नेपाल हस्तकला महासंघले पनि नयाँ सरकारको स्वागत गर्दै देशको समृद्धि र सुशासनतर्फ अग्रसर हुन शुभकामना व्यक्त गरेको छ।
महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा प्रतिनिधि सभा निर्वाचनबाट अत्यधिक जनमत प्राप्त गरी राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) नेपालको प्रधानमन्त्री पदमा नियुक्त भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको कामना गरिएको छ। साथै, मन्त्रिपरिषद् गठन भएसँगै सरकारले सार्वजनिक गरेको सय बुँदे कार्ययोजना र सुशासन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार गर्ने प्रतिबद्धताको महासंघले खुलेर स्वागत गरेको छ।
विज्ञप्तिमा निजी क्षेत्रलाई राष्ट्र निर्माण र समृद्धिको प्रमुख साझेदारका रूपमा उल्लेख गर्दै सरकारले यस क्षेत्रलाई आवश्यक सुरक्षा र राहत प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ। विशेषगरी हस्तकला जस्ता स्वदेशी श्रम, कच्चा पदार्थ र सीपमा आधारित उद्योग–व्यवसायको प्रवर्द्धनमा राज्यको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिइएको छ।
महासंघले नेपाली हस्तकला क्षेत्रले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै पर्यटन प्रवर्द्धन, संस्कृति तथा सम्पदा संरक्षण र रोजगारी सिर्जनामा यस क्षेत्रको योगदान उल्लेखनीय रहेको बताएको छ। आगामी दिनमा यस क्षेत्रको मनोबल उच्च बनाउने तथा व्यवसायमैत्री नीति अवलम्बन गर्न सरकारसँग अपेक्षा गरिएको छ।
त्यसैगरी, सरकारले अवलम्बन गर्ने हरेक सुशासनसम्बन्धी पहलमा हस्तकला क्षेत्रले साथ र सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ। निजी क्षेत्रसँग सहकार्य गर्दै प्रभावकारी कार्यसम्पादनमार्फत आर्थिक विकासलाई गति दिन सरकार सफल हुने विश्वास महासंघले लिएको छ।
अन्त्यमा, सरकारको सफल कार्यकाल, प्रभावकारी नीति कार्यान्वयन र समग्र आर्थिक उन्नतिको कामना गर्दै नेपाल हस्तकला महासंघले पुनः शुभकामना व्यक्त गरेको छ।