काठमाडौँ। नेपाल चेम्बर अफ कमर्स का प्रतिनिधिमण्डलले नवनियुक्त डा. स्वर्णिम वाग्ले लाई भेट गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । भेटका क्रममा चेम्बरले सरकारले पछिल्लो समय अघि सारेका अर्थतन्त्र सुधारसम्बन्धी कदमहरूको स्वागत गर्दै आगामी दिनमा निजी क्षेत्रसँग सहकार्य गरेर देशको आर्थिक विकासलाई गति दिनुपर्नेमा जोड दिएको छ।
भेटमा अर्थमन्त्री वाग्लेले नेपाललाई “गरिखाने मान्छेहरूको देश” का रूपमा स्थापित गर्ने लक्ष्यसहित आफूहरू अघि बढेको स्पष्ट पार्दै राज्यले व्यवसायीहरूलाई उड्ने र फैलने अवसर प्रदान गर्ने बताएका छन्। “देश बनाउने दृढ इच्छाशक्ति लिएर हामी आएका छौँ, अर्थतन्त्र बलियो बनाउनु हाम्रो मुख्य लक्ष्य हो,” उनले भने, “आउनुस्, सबै मिलेर हातेमालो गरौँ।”
चेम्बरका प्रतिनिधिहरूले अर्थमन्त्री वाग्लेको दृष्टिकोणप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै सरकारको सुधारमुखी नीतिहरूले निजी क्षेत्रलाई उत्साहित बनाएको बताएका छन्। चेम्बरले अर्थतन्त्र सुदृढीकरण, लगानीमैत्री वातावरण निर्माण र उद्योग–व्यवसाय विस्तारका लागि सरकारसँग निरन्तर सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अर्थमन्त्री वाग्लेले इमानदार उद्योगी–व्यापारीहरूलाई कानुनी जटिलताका कारण कुनै प्रकारको अप्ठ्यारो नपर्ने वातावरण निर्माण गर्ने सरकारको स्पष्ट अठोट रहेको बताए। “इमानदार व्यवसायी कानुनकै कारण बदनाम हुने अवस्था आउन दिँदैनौँ,” उनले भने, “रोजगारी सिर्जना गर्ने व्यवसायीले राज्यका कारण दुःख पाउने अवस्था अब अन्त्य हुन्छ, यसको ग्यारेन्टी म गर्छु।”
उनले निजी क्षेत्रलाई इमानदारीपूर्वक अघि बढ्न आग्रह गर्दै राज्यले पूर्ण साथ र सहयोग गर्ने विश्वास दिलाए। “अर्थतन्त्र बलियो बनाउन राज्यले के गर्नुपर्छ, तपाईंहरू सुझाव दिनुस्, हामी कार्यान्वयन गर्छौँ,” उनले भने, “तर नियोजित गल्ती र बेइमानीप्रति भने सरकार कडाइका साथ प्रस्तुत हुन्छ।”
चेम्बरका पदाधिकारीहरूले निजी क्षेत्र र सरकारबीचको सहकार्यलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिँदै अर्थतन्त्र सुधारका लागि नीतिगत पैरवी, सुझाव र सहकार्यमा सधैं अगाडि रहने प्रतिबद्धता जनाएका छन्। उनीहरूले उत्पादन वृद्धि, रोजगारी सिर्जना, निर्यात प्रवर्द्धन र लगानी विस्तारमार्फत देशलाई समृद्धितर्फ लैजान निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका छन्।
चेम्बरले विशेषगरी हाल सरकारले अघि सारेका नीतिगत सुधार, प्रशासनिक सहजीकरण र व्यवसायमैत्री वातावरण निर्माणका पहलहरूको खुलेर स्वागत गर्दै तिनको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ। साथै, निजी क्षेत्रको अनुभव र सुझावलाई नीति निर्माणमा समेट्न सके अर्थतन्त्रले अझ तीव्र गति लिने विश्वास पनि व्यक्त गरिएको छ।
चेम्बरले सरकारसँग सहकार्य गर्दै देशको अर्थतन्त्रलाई सुदृढ बनाउने, रोजगारीका अवसर सिर्जना गर्ने र नेपाललाई आत्मनिर्भर अर्थतन्त्रतर्फ अघि बढाउने अभियानमा निरन्तर सक्रिय रहने प्रतिबद्धता दोहोर्याएको छ।