काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघ को ५९औँ निर्वाचन नजिकिँदै जाँदा व्यवसायिक क्षेत्र थप सक्रिय बन्दै गएको छ। यसै सन्दर्भमा भवि अध्यक्ष अञ्जन श्रेष्ठ को समर्थन रहेको तथा उपाध्यक्षका उम्मेदवार शिव प्रसाद घिमिरे को प्यानलबाट वस्तुगततर्फ केन्द्रीय सदस्यका उम्मेदवार नानिराज घिमिरे ले आफ्नो स्पष्ट एजेन्डा सार्वजनिक गरेका छन्।
नानिराज घिमिरेले आफू निर्वाचित भए साना तथा मझौला व्यवसायीहरूको हक–हित संरक्षण र समस्या समाधानलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले विगत तीन वर्षको अनुभवलाई आधार बनाउँदै नीतिगत अस्पष्टतालाई अन्त्य गरी त्यसलाई व्यवहारिक सुधारमा रूपान्तरण गर्ने लक्ष्य लिएको बताएका छन्।
उनका अनुसार हाल साना तथा मझौला व्यवसायीहरूले कर प्रणाली, बैंकिङ क्षेत्र र बजार व्यवस्थापनसँग सम्बन्धित अनेकौं समस्या भोगिरहेका छन्। यिनै समस्यालाई केन्द्रमा राख्दै व्यावहारिक समाधान खोज्ने, नीतिगत अन्योल हटाउने र कार्यान्वयन पक्षलाई मजबुत बनाउनेतर्फ आफू केन्द्रित रहने उनले स्पष्ट पारे।
घिमिरेले व्यवसायीमैत्री वातावरण निर्माण अपरिहार्य रहेको उल्लेख गर्दै नीतिगत कमजोरी सुधार, प्रक्रियागत सहजता र सुरक्षित व्यवसायिक वातावरण निर्माणमा सक्रिय भूमिका खेल्ने बताएका छन्। उनले विशेषगरी बैंक ब्याजदरको दबाब, करको बोझ र बजार अभावजस्ता समस्याले साना तथा मझौला व्यवसायीहरू मारमा परेको उल्लेख गर्दै यी विषयमा ठोस नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनको आवश्यकता औंल्याए।
“मेरो अनुभवलाई शक्तिमा रूपान्तरण गर्दै साना तथा मझौला व्यवसायीको वास्तविक समस्याको समाधानमा केन्द्रित रहनेछु,” उनले भने, “हक–हित संरक्षण, व्यवसाय सशक्तीकरण र दिगो विकासका लागि निरन्तर क्रियाशील रहने मेरो प्रतिबद्धता छ।”
व्यवसायिक वृत्तमा निष्ठावान्, अनुभवी र स्पष्ट दृष्टिकोण भएका व्यक्तित्वका रूपमा चिनिएका घिमिरेले निजी क्षेत्रको आवाजलाई सशक्त रूपमा उठाउने विश्वास व्यक्त गरेका छन्। उनको उम्मेदवारीलाई साना तथा मझौला व्यवसायीहरूको प्रतिनिधित्व गर्ने प्रयासका रूपमा हेरिएको छ।
आगामी निर्वाचनलाई निजी क्षेत्रको भविष्यसँग जोडेर हेरिएको अवस्थामा घिमिरेको एजेन्डाले विशेषगरी साना तथा मझौला व्यवसायीबीच सकारात्मक सन्देश प्रवाह गरेको देखिन्छ। अनुभवी नेतृत्व, स्पष्ट योजना र दृढ प्रतिबद्धतासहित उनी महासंघभित्र प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।