काठमाडौँ । डिजिटल साक्षरता नै आजको विश्वव्यापी प्रगतिको आधार बनेको सन्दर्भमा नेपालका विद्यार्थीहरूले अन्तर्राष्ट्रिय स्तरमै उल्लेखनीय सफलता हासिल गरेका छन्। दूरशिक्षा एजुकेशन नेटवर्क को आयोजनामा काठमाडौँको नयाँ बानेश्वरस्थित अल्फा बिटामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा अन्तर्राष्ट्रिय कोडिङ प्रतिस्पर्धामा उत्कृष्ट स्थान हासिल गरेका नेपाली बाल प्रतिभाहरूलाई सम्मान गरिएको छ।
डिस्कभरी एजुकेशन र एड्युटेक सँगको सहकार्यमा आयोजित ‘इन्टरनेशनल डिस्कभरी एजुकेशन कोडिङ च्यालेन्ज २०२४-२०२५’ मार्फत नेपाली विद्यार्थीहरूले विश्वव्यापी मञ्चमा आफ्नो क्षमता प्रमाणित गरेका हुन्। उक्त कार्यक्रमले नेपालमा प्राविधिक शिक्षाको प्रभावकारिता र सम्भावनालाई थप उजागर गरेको छ।
प्रतिस्पर्धामा अंशु कृष्ण रिजालले पाइथन प्रोग्रामिङतर्फ विश्व प्रथम स्थान हासिल गरेका छन्। आधुनिक प्रविधि, विशेषतः कृत्रिम बुद्धिमत्ता र तथ्याङ्क विश्लेषणमा प्रयोग हुने यस क्षेत्रमा उनको उपलब्धि गौरवको विषय बनेको छ। त्यसैगरी, श्रेयस खड्गीले सिनियर ब्लक कोडिङतर्फ विश्व द्वितीय स्थान प्राप्त गर्दै जटिल तर्कलाई व्यवहारिक रूपमा प्रयोग गर्ने क्षमता प्रदर्शन गरेका छन्। जुनियरतर्फ विनायक पाङ्गेनीले पनि विश्व द्वितीय स्थान हासिल गर्दै सानै उमेरमा पनि उत्कृष्ट प्राविधिक दक्षता हासिल गर्न सकिने सन्देश दिएका छन्।
कार्यक्रम कृष्णप्रसाद पाण्डे को सभापतित्वमा सम्पन्न भएको थियो। उनले नेपाली विद्यार्थीहरूलाई विश्वस्तरको अवसरसँग जोड्ने लक्ष्यसहित दूरशिक्षाले काम गरिरहेको उल्लेख गर्दै भविष्यमा अझ सुदृढ अन्तर्राष्ट्रिय पाठ्यक्रम र अवसरहरू विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघकि उपाध्यक्ष ज्योत्सना श्रेष्ठले यस्ता उपलब्धिहरूले देशको आर्थिक तथा औद्योगिक विकासमा योगदान पुर्याउने बताउँदै दक्ष जनशक्ति उत्पादनका लागि यस्ता पहललाई निरन्तरता दिनुपर्ने धारणा राखिन्। नेपाल उद्योग वाणिज्य महासंघ को तर्फबाट उनले दूरशिक्षासँग सहकार्य गरी उद्यमशीलता र सीप विकासलाई अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरिन्।
त्यसैगरी क्यान महासंघ का वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारी ले बाल्यकालदेखि नै कोडिङ शिक्षामा जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै यसले भविष्यको प्रविधि क्षेत्रमा नेपालको प्रतिस्पर्धात्मक क्षमता बढाउने बताए।
कार्यक्रममा प्रविधि उद्यमी जयन्ती माला चपागाईं ले कोडिङले विद्यार्थीहरूमा समस्या समाधान गर्ने क्षमता विकास गर्ने उल्लेख गर्दै विजेता विद्यार्थीहरूलाई बधाई दिइन्। साथै सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन का अध्यक्ष डा. शालिग्राम पराजुलीले डिजिटल सीपको विकासलाई सुरक्षित डिजिटल नेपालको आधारका रूपमा व्याख्या गर्दै यस्ता प्रतिभाहरूले भविष्यमा देशको प्रविधि क्षेत्रलाई नेतृत्व गर्ने विश्वास व्यक्त गरेका छन्।