काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एसोसिएटतर्फ कार्यकारिणी सदस्य पदका उम्मेदवारका रूपमा जश श्रेष्ठले आफ्नो उपस्थिती जनाएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत उपाध्यक्ष पदकी उम्मेदवार ज्योत्सना श्रेष्ठ को प्यानलबाट उनी सदस्य पदमा प्रतिस्पर्धामा उत्रिएका हुन्, जशलाई व्यवसायी समुदायले आशाका रूपमा हेरिरहेको छ।
युवा उमेरमै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका जश श्रेष्ठ एक समर्पित, दूरदर्शी र ऊर्जाशील उद्यमीका रूपमा चिनिन्छन्। उनी हाल जे ए ग्रुप नेपाल प्रालिका कार्यकारी निर्देशकका रूपमा कार्यरत छन् भने भिस्टा नेपाल प्रालि, हिमालयन बोधि स्पाइसेज र हिमालयन बोधि इन्टरनेशनल ट्रेड प्रालिका अध्यक्षका रूपमा विभिन्न व्यवसायिक क्षेत्रको नेतृत्व गरिरहेका छन्। साथै, नबिल बैंक, कुमारी बैंक र नेशनल हाइड्रोपावर कम्पनीमा प्रवर्द्धक सेयरधारकका रूपमा पनि उनको सहभागिता रहेको छ।
व्यवसायसँगै संस्थागत क्षेत्रमा पनि उनको संलग्नता उल्लेखनीय छ। उनी नेपाल युवा उद्यमी मञ्च (ललितपुर) का पूर्व कार्यकारी सदस्य हुन् भने हाल एनवाईईएफ कनेक्टसँग आबद्ध छन्। यसले उनी युवा उद्यमीहरूबीच पनि लोकप्रिय र प्रभावशाली रहेको देखिन्छ ।
शैक्षिक रूपमा पनि जश श्रेष्ठ अब्बल मानिन्छन्। उनले थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमबीए, स्पेनको ईएडीएबाट मार्केटिङमा स्नातकोत्तर, काठमाडौं विश्वविद्यालयबाट बीबीए र भारतको बिशप कटन स्कुलबाट आईएससीई शिक्षा हासिल गरेका छन्। अन्तर्राष्ट्रिय मञ्चमा पनि उनले आफ्नो क्षमता प्रमाणित गर्दै जी–२० युवा उद्यमी सम्मेलन, भारतमा सहभागिता जनाएका छन् भने २०२४ मा एक्सिटो एक्सिलेन्स अवार्ड र दुबईमा अन्तर्राष्ट्रिय उत्कृष्टता अवार्ड प्राप्त गरेका छन्।
विदेशमा उच्च शिक्षा हासिल गरेपछि पनि सहज जीवन त्यागेर आफ्नै देशमा केही गर्ने उद्देश्यले नेपाल फर्किएका जश श्रेष्ठलाई व्यवसायीहरूले इमान्दार, सरल र जोशिलो युवा नेतृत्वका रूपमा हेर्छन्। पारिवारिक रूपमा पनि व्यवसायिक पृष्ठभूमि भएका उनी अनुभव र ऊर्जा दुवैको संयोजन लिएर अघि बढेका छन्।
यसैबीच, उपाध्यक्षकी उम्मेदवार ज्योत्सना श्रेष्ठ पनि वर्तमान उपाध्यक्षका रूपमा अनुभव, सरलता र सबैसँग मिल्ने स्वभावका कारण उद्योगी–व्यवसायीबीच लोकप्रिय व्यक्तित्वका रूपमा परिचित छिन्। नेपाल रत्न तथा आभूषण संघकी पूर्व अध्यक्षसमेत रहेकी उनी बलियो नेतृत्वसहित अघि बढिरहेकी छन्। वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकाल को प्यानलमा समेटिएको यो टिमलाई विश्वासिलो टोलीका रूपमा लिइएको छ।
जश श्रेष्ठको उम्मेदवारी केवल पद प्राप्तिको प्रयास मात्र होइन, यो युवा पुस्ताको प्रतिनिधित्व गर्दै नयाँ सोच, पारदर्शिता र समावेशी विकासलाई अघि बढाउने प्रतिबद्धता हो। त्यसैले धेरैले उनलाई परिवर्तनको वाहक र आगामी दिनमा महासंघलाई नयाँ गति दिने सक्षम नेतृत्वका रूपमा हेरिरहेका छन्।
