यस पटक बलियो प्रतिपक्ष भनेको जनता नै हुन् : सभामुख अर्याल

काठमाडौं । नवनियुक्त प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) ले पदवहाली गरेका छन् । आइतबार पद तथा गोपनियताको शपथ लिएसँगै पदवहाली गरेका हुन् ।

पदवहालीपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यसपालीको बलियो प्रतिपक्ष भनेको जनता नै भएको बताए ।
प्रतिपक्षमा एकजना मात्रै भएपनि बलियो हुने बताउँदै उनले सदन भनेको प्रतिपक्षकै हुनुपर्छ भन्ने कुरालाई आफूले बुझेको धारणा राखे ।

उनले भने, ‘यसपालीको बलियो प्रतिपक्ष भनेको जनता हुनुहुन्छ । २०८२ को यस वर्षको निर्वाचन विशेष निर्वाचन हो । विगतमा भएका कयौं निर्वाचन र भविष्यको निर्वाचन भन्दा यो फरक हो । अहिलेको संसद म्यान्डेटबाट आएको हो । म सभामुखको हैसियतमा बस्दैगर्दा यसपटकको बलियो प्रतिपक्ष जनता नै हुन् भन्ने लाग्छ । प्रतिपक्षमा एकजना मात्र किन नहोस् प्रतिपक्ष नै हो । उहाँहरु बलियो नै हुनेछन् । सदन भनेको प्रतिपक्षकै हुनुपर्छ भन्ने कुरा बुझेको छु ।’

उनले नीति नियमहरु राम्रो बनाउने कुरामा अग्रसर हुने प्रतिबद्धता जनाए । प्रतिपक्षबाट एकैजनाले मात्र चासो दिएपनि उनीहरुको सम्मान र उनीहरुले उठाएको विषय राम्रोसँग प्रस्तुत हुनेपनि उनको प्रतिबद्धता छ ।

‘सरकारले नीति नियमहरु राम्रो बनाउँछ । प्रतिनिधिसभा र हामीले गर्ने काम भनेको कानुन बनाउने हो । त्यसैले कानुन बनाउने कुरामा अग्रसर हुन्छौं । प्रतिपक्षबाट एकैजनाले मात्र चासो किन नदियोस् उहाँहरुको सम्मान र विषय कसरी उठान गर्नुपर्छ त्यसमा राम्रोसँग प्रस्तुत हुनेछु ।’