काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ को आसन्न निर्वाचनलाई केन्द्रित गर्दै एशोसिएट्सतर्फ उपाध्यक्ष र सदस्य पदका लागि उम्मेदवारी दर्ता प्रक्रिया तीव्र बनेको छ। यसैक्रममा एशोसिएट्सतर्फ उपाध्यक्षका प्रत्यासी ज्योत्सना श्रेष्ठ नेतृत्वको समूहले आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा प्रस्तावित वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकाल को समर्थनमा उभिएको श्रेष्ठ समूहले विविध क्षेत्रका अनुभवी तथा सफल व्यवसायीहरूलाई समेट्दै समावेशी र सन्तुलित टिम निर्माण गरेको छ। जसमा कुल १९ सदस्यीय संरचनामा प्रतिस्पर्धा झन् रोचक बन्दै गएको देखिन्छ।
श्रेष्ठ समूहले अघि सारेको टिममा विभिन्न क्षेत्रका अब्बल, अनुभवी र स्थापित व्यक्तित्वहरूको सहभागिता रहेको छ। सदस्य पदका उम्मेदवारहरूमा शोभा ज्ञवाली, जश श्रेष्ठ, अविनास बोहोरा, अम्बिका शर्मा लामिछाने, बटु लामिछाने, बलराम सापकोटा, भरत रानाभाट, देशबन्धु बस्नेत (अजित), गोपाल खनाल, जमुना पौडेल, रामराजा श्रेष्ठ, डा. रामशरण थपलिया, राजकुमार तिमलसिना, सन्दीप अग्रवाल (माखरिया), शैलेन्द्र गुरागाईं, सुनिलनारायण श्रेष्ठ, सचिन ढकाल, ई. विनोद ढकाल तथा चन्द्र ढकाल (काभ्रे) रहेका छन्।
विशेषगरी महिला उद्यमी महासंघकि निबर्तमान अध्यक्षको नेतृत्वदायी भूमिका निर्वाह गरिसकेकी शोभा ज्ञवालीको सहभागिताले टिमलाई अझ सशक्त, समावेशी र प्रतिनिधिमूलक बनाएको बताइएको छ। अझ महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा सचिनको इन्ट्रीले टिमलाइ सबैले चासोका रुपमा हेरेका छन् । यस समूहका अधिकांश सदस्यहरू आफ्ना-आफ्ना क्षेत्रका सफल, अनुभवी र स्थापित व्यवसायीका रूपमा परिचित छन्।

उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै उपाध्यक्षका प्रत्यासी ज्योत्सना श्रेष्ठ ले आफ्नो टिम अत्यन्त बलियो रहेको दाबी गरिन्। “हामीले उद्योग, व्यापार, सेवा, उत्पादन तथा महिला उद्यमशीलता लगायत सबै क्षेत्रलाई समेट्ने गरी सन्तुलित र सक्षम टिम निर्माण गरेका छौं,” उनले भनिन्।
उनले आगामी निर्वाचनमा आफ्नो समूहले एशोसिएट्सतर्फ निर्णायक जित हासिल गर्ने विश्वास व्यक्त गर्दै निजी क्षेत्रको हित, उद्यमशीलताको प्रवर्द्धन र आर्थिक समृद्धिका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत जनाइन्।