झापा , “नेपाली गीत, संगीत र संस्कृति संरक्षणको अभियान, व्यावसायिक एकता सहितको हाम्रो पहिचान” भन्ने नाराका साथ नेपाल संगीत उद्योग संघ नेपालद्वारा युवा व्यवसायी राजेन्द्र संगौलालाई राष्ट्रिय युवा उद्यमी सम्मान–पत्र प्रदान गरिएको छ।
मेचीनगर–७, झापामा जन्मनुभएका नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनका अध्यक्ष एवं नेपाल सरकारको इन्टरमोडल डेभलपमेन्ट बोर्डका सदस्यको रूपमा समेत काम गरिसकेका राजेन्द्र संगौला व्यवसायिक क्षेत्रमा एक प्रतिष्ठित नामका रूपमा स्थापित हुनुहुन्छ। उहाँ युनिक फ्रेट इन्टरनेशनल तथा एन. के. एन. होल्डिङ्स प्रा. लि.को नेतृत्व गरिरहनु भएको छ। साथै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत सञ्चालक समितिका सदस्य र निर्यात व्यवसायी महासंघ नेपालसँग आबद्ध रही देशको अर्थतन्त्रमा सुधार ल्याउन निरन्तर योगदान दिँदै आउनुभएको छ।
नेपाल संगीत उद्योग संघद्वारा आयोजित “अथक शान्त साधक विश्वनाथ केडिया पाँचौं राष्ट्रिय म्युजिक अवार्ड–२०२६” मा उहाँलाई युवा उद्यमी सम्मान प्रदान गरिएको हो। उक्त सम्मान प्रमुख अतिथि, सम्माननीय नारायण प्रसाद दाहाल, अध्यक्ष, राष्ट्रिय सभा, बाट हस्तान्तरण गरिएको थियो। महासचिव जित बहादुर रावतका अनुसार, संगौलाको योगदानको कदर गर्दै उहाँलाई सम्मानित गरिएको हो। कार्यक्रममा उहाँको उत्तररोत्तर प्रगति तथा सु–स्वास्थ्यको कामना समेत व्यक्त गरिएको थियो।