काठमाडौं । नाइमा को समन्वय र लक्ष्मी हुन्डाई को आयोजनामा सञ्चालन भएको इलेक्ट्रिक सवारी प्रविधि, सुरक्षा तथा मर्मतसम्बन्धी तीन दिने प्राविधिक क्षमता अभिवृद्धि तालिमको पहिलो दिन सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमका अध्यक्ष निराकार श्रेष्ठ ले सवारी क्षेत्रमा तीव्र रूपमा विकास भइरहेको आधुनिक प्रविधिसँगै दक्ष प्राविधिक जनशक्ति अत्यावश्यक बन्दै गएको उल्लेख गर्नुभयो। उहाँले नाइमा ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् तथा ट्राफिक प्रहरीसँग सहकार्य गर्दै यस्ता क्षमता अभिवृद्धिका कार्यक्रमहरूलाई निरन्तर अघि बढाउँदै आएको जानकारी दिनुभयो।
विशेष अतिथि केशर न्यौपाने ले सवारी क्षेत्र परिवर्तनको महत्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै प्राविधिक ज्ञान र सचेतना अभिवृद्धि आजको अपरिहार्य आवश्यकता भएको बताउनुभयो।
त्यसैगरी प्रमुख अतिथि, बालाजु स्कूल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी का प्रिन्सिपल सुशील श्रेष्ठ ले इलेक्ट्रिक सवारीसम्बन्धी ज्ञान वर्तमान बजारको मागअनुसार अत्यन्त आवश्यक बन्दै गएको उल्लेख गर्दै नाइमा सँगको सहकार्यमा यस्तो तालिम सञ्चालन हुनु सकारात्मक र प्रभावकारी पहल भएको बताउनुभयो।
तालिममा बालाजु स्कूल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीका १८ जना विद्यार्थी तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका ७ जना ट्राफिक प्रहरी कर्मचारीहरूको सक्रिय सहभागिता रहेको छ।
सवारी क्षेत्रको भविष्यसँग जोडिएको यस प्रकारको तालिमले नयाँ पुस्तालाई सीपयुक्त बनाउँदै सुरक्षित र प्रविधिमैत्री यातायात प्रणाली निर्माणमा टेवा पुग्ने विश्वास गरिएको छ।