सभामुख अर्यालको सचिवालय : मुना कुँवर प्रमुख स्वकीय, नवराज पाण्डे स्वकीय सचिव नियुक्त

काठमाडौँ — प्रतिनिधिसभाका सभामुख डीपी अर्याल ले आफ्नो सचिवालय गठन गर्दै मुना कुँवरलाई प्रमुख स्वकीय सचिव र नवराज पाण्डेलाई स्वकीय सचिवमा नियुक्त गरेका छन् ।

सभामुखमा निर्विरोध निर्वाचित भएलगत्तै उनले सचिवालयलाई पूर्णता दिँदै अनुभवी सञ्चारकर्मीलाई जिम्मेवारी दिएका हुन्। प्रमुख स्वकीय सचिवमा नियुक्त कुँवरले नेपाल सरकारको सहसचिव सरहको सेवा–सुविधा पाउनेछिन् भने स्वकीय सचिव पाण्डेले उपसचिव सरहको सुविधा पाउनेछन्।

सञ्चार तथा पत्रकारिता क्षेत्रमा लामो अनुभव बटुलेकी कुँवर यसअघि विभिन्न राष्ट्रिय सञ्चारमाध्यममा सक्रिय रहँदै आएकी थिइन्। त्यस्तै, पाण्डे पनि टेलिभिजन पत्रकारितामा अनुभवी मानिन्छन् र विभिन्न प्रतिष्ठित सञ्चार संस्थामा कार्यरत रहिसकेका छन्।

सभामुख अर्यालको सचिवालयमा अनुभवी र दक्ष जनशक्ति समेटिएसँगै संसद् सम्बन्धी कार्यसम्पादन थप प्रभावकारी र व्यवस्थित हुने अपेक्षा गरिएको छ।