काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ को ६०औँ वार्षिक साधारणसभा तथा आसन्न निर्वाचनलाई लक्षित गर्दै वस्तुगततर्फ कार्यकारिणी सदस्य पदमा सुरज बन्जाडेले उम्मेदवारी घोषणा गर्नुभएको छ। उद्योग वाणिज्य क्षेत्रमा सक्रिय बन्जाडे हाल फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन नेपाल का अध्यक्षका रूपमा कार्यरत रहनुभएको छ।
बन्जाडेले आफू आदरणीय नरेश लाल श्रेष्ठ को नेतृत्वमा रहेको सशक्त टिमसँग सहकार्य गर्दै अघि बढिरहेको उल्लेख गर्नुभएको छ। उहाँले नेपाली जुत्ता उद्योगको दीगो विकास, स्वदेशी उत्पादनको प्रवर्द्धन, निर्यात विस्तार, रोजगारी सिर्जना तथा चोरी पैठारी नियन्त्रणलाई प्राथमिकतामा राख्दै व्यवसायिक वातावरण सुदृढ बनाउने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उहाँका अनुसार उद्योगी–व्यवसायीहरूको साझा आवाजलाई महासंघमा प्रभावकारी रूपमा उठाउँदै नीतिगत सुधार, बजार विस्तार र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा सक्रिय भूमिका निर्वाह गरिनेछ। बन्जाडेले आफ्नो उम्मेदवारीलाई निजी क्षेत्रको सुदृढीकरण र स्वदेशी उद्योगको उत्थानसँग जोडिएको उल्लेख गर्दै सम्पूर्ण उद्योगी–व्यवसायीको साथ, समर्थन र विश्वासले मात्र यी लक्ष्यहरू हासिल गर्न सम्भव हुने विश्वास व्यक्त गर्नुभएको छ।