निशन महर्जनलाई खेलकुद मन्त्रालयको सचिवालय प्रमुखको नेतृत्व

काठमाडौं । सुशासन, पारदर्शिता र नीतिगत सुधारको क्षेत्रमा अध्ययनरत युवा अनुहार निशन महर्जन ले  युवा तथा खेलकुद मन्त्रालयको सचिवालय प्रमुखको महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएको छ। सार्वजनिक नीति व्यवस्थापन तथा भ्रष्टाचार निवारणमा स्नातकोत्तर अध्ययन गरिरहेका महर्जनको नियुक्तिलाई नयाँ ऊर्जा र सुधारको संकेतका रूपमा हेरिएको छ।

सूचना प्रविधि क्षेत्रमा Bachelor in Computer Applications (BCA) अध्ययन गरेका महर्जन डिजिटल प्रणाली, डाटा व्यवस्थापन तथा प्रविधिमैत्री समाधानमा दक्ष मानिन्छन्। उहाँको यो पृष्ठभूमिले सार्वजनिक सेवा प्रवाहलाई अझ पारदर्शी, छिटो र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

नवीन जिम्मेवारी सम्हाल्दै महर्जनले विशेषगरी खेलकुद क्षेत्रमा देखिएका अनियमितता, पारदर्शिताको अभाव र राजनीतिक हस्तक्षेपका कारण सिर्जित समस्याहरू समाधान गर्ने दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँका अनुसार योग्य खेलाडीहरूले अवसर नपाउने, स्रोत–साधनको दुरुपयोग हुने तथा नीतिगत कमजोरी कायम रहनु अहिलेका प्रमुख चुनौती हुन्, जसलाई सुधार गर्न सुशासन र उत्तरदायित्व अपरिहार्य छन्।

महर्जनले आफ्नो कार्यकालमा डिजिटल प्रणालीमार्फत पारदर्शिता अभिवृद्धि गर्ने, युवा लक्षित प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने तथा सरकारी संयन्त्रभित्र उत्तरदायित्वको संस्कृति विकास गर्ने लक्ष्य अघि सार्नुभएको छ। साथै, भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउँदै इमानदारी, निष्ठा र समर्पणका साथ काम गर्ने अठोट उहाँले व्यक्त गर्नुभएको छ।

उहाँले यो जिम्मेवारीलाई केवल पद नभई राष्ट्रसेवाको अवसरका रूपमा लिँदै परिणाममुखी काममार्फत सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता जनाउनुभएको छ।