“समावेशी र परिणाममुखी महासंघका लागि मेरो उम्मेदवारी”: शोभा ज्ञवाली

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ को आगामी साधारणसभा तथा निर्वाचनलाई लक्षित गर्दै एशोसिएटतर्फ कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएकी शोभा ज्ञवाली ले आफूले समावेशी, सशक्त र परिणाममुखी नेतृत्वका लागि अघि बढेको बताउनुभएको छ।

उहाँले लामो समयदेखि निजी क्षेत्र, महिला उद्यमशीलता तथा संस्थागत नेतृत्वमा काम गर्दै आएको अनुभवलाई महासंघमार्फत थप प्रभावकारी रूपमा उपयोग गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो। बहालवाला अध्यक्ष चन्द्रप्रसाद ढकाल को समर्थन रहेको टिममा वरिष्ठ उपाध्यक्षका लागि हेमराज ढकाल र एशोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठको उम्मेदवारीले टोलीलाई अझ सशक्त बनाएको उहाँको भनाइ छ।

ज्ञवालीले आफू विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा सक्रिय रहँदै आएको अनुभवले निजी क्षेत्रका मुद्दा प्रभावकारी रूपमा उठाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। महिला सशक्तीकरण, उद्यमशीलता प्रवर्द्धन तथा समावेशी आर्थिक विकास आफ्नो प्राथमिकता रहेको उहाँले स्पष्ट पार्नुभयो।

“महासंघलाई अझ समावेशी, व्यवसायमैत्री र परिणाममुखी बनाउँदै स्वदेशी उत्पादन प्रवर्द्धन र अन्तर्राष्ट्रिय स्तरमा नेपाली पहिचान स्थापित गर्न म प्रतिबद्ध छु,” उहाँले भन्नुभयो।

उहाँले अनुभवी र सक्षम टिमसँग सहकार्य गर्दै निजी क्षेत्रको हितमा ठोस नतिजामुखी काम गर्ने अठोट व्यक्त गर्नुभएको छ।