अटोमोवाइल क्षेत्र सुधारमा सरकार-नाडा संवाद: नीति परिमार्जनमा जोड

काठमाडौं, चैत २५ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल का अध्यक्ष सुरेन्द्रकुमार उप्रेती को नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराल सँग भेट गरी नेपालको अटोमोवाइल क्षेत्रका समस्या र समाधानका उपायबारे विस्तृत छलफल गरेको छ।

भेटका क्रममा अध्यक्ष उप्रेतीले सुस्ताएको अटोमोवाइल क्षेत्रलाई पुनः गतिशील बनाउन नीतिगत सुधार आवश्यक रहेको धारणा राख्दै त्यसबाट राजस्व वृद्धि र रोजगारी सिर्जनामा समेत सकारात्मक प्रभाव पर्ने बताएका छन्। उनले सीकेडी उद्योगको स्थायित्वका लागि कम्पोनेन्ट उद्योगलाई प्रोत्साहन, कच्चा पदार्थ आयातमा सहुलियत तथा उत्पादनमूलक वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। साथै, नेपालमै उत्पादन भइरहेका सवारीसम्बन्धी सामग्रीको गुणस्तर परीक्षणका लागि आवश्यक संरचना अभाव हुँदा व्यवसायीले समस्या भोग्नुपरेको पनि उनले उल्लेख गरेका छन्।

राजस्व सचिव बरालले नाडाबाट प्राप्त सुझावहरू व्यवहारिक र कार्यान्वयनयोग्य रहेको भन्दै मन्त्रालय यस विषयमा सकारात्मक रहेको बताएका छन्। छलफलमा नाडाका निवर्तमान अध्यक्ष करण चौधरी ले सवारी कर्जा सम्बन्धी लोन–टु–भ्यालु अनुपात पुनरावलोकन गर्नुपर्नेमा जोड दिँदै यसले बिक्री वृद्धि, रोजगारी विस्तार र राजस्व वृद्धिमा टेवा पुग्ने बताए।

त्यसैगरी, विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठ ले अटोमोवाइल क्षेत्रलाई अझै विलासिताको वस्तुका रूपमा हेर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउँदै सीमा क्षेत्रमा चोरी निकासी नियन्त्रण र महसुल समायोजन आवश्यक रहेको धारणा राखे। महासचिव मिलनबाबु मल्ल ले विद्युतिय सवारीको पिक पावर मापनका विषयमा देखिएका अन्योल समाधानका लागि सरकारसँग सहकार्य गर्न तयार रहेको बताए।

छलफलमा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया र सचिव मेघराज पौडेलको समेत सहभागिता रहेको थियो। समग्रमा, अटोमोवाइल क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यलाई थप मजबुत बनाउँदै नीतिगत सुधारतर्फ अघि बढ्ने साझा समझदारी बनेको छ।