काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल पहिलो विदेश भ्रमण सकेर स्वदेश फर्किएका छन् । २७ र २८ चैतमा मौरिससमा आयोजना भएको नवौं पश्चिमी हिन्द महासागर सम्मेलन (इन्डियन ओसियन कन्फरेन्स) मा सहभागि हुन बिहीबार मौरिसस गएका मन्त्री खनाल सोमबार स्वदेश फर्किएका हुन् ।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले सम्मेलनका क्रममा क्षेत्रीय सहकार्य पुनर्संरचना, समावेशी तथा नियममा आधारित समुद्री सुशासन, जलवायु परिवर्तनका चुनौतीहरूको साझा समाधान तथा दिगो र लचिलो विकासका लागि समन्वित प्रयासमा जोड दिएको बताए ।
उनले भूपरिवेष्टित मुलुकका रूपमा नेपालका विशिष्ट सरोकारहरू अन्तर्राष्ट्रिय समुदायसमक्ष स्पष्ट रूपमा प्रस्तुत गर्दै समुद्री पहुँच र क्षेत्रीय साझेदारीका विषयलाई प्राथमिकतामा राख्नुपर्ने धारणा पनि राखेको जानकारी दिए ।
उनले भने, ‘सम्मेलनको क्रममा मैले क्षेत्रीय सहकारी पुनर्संरचना समावेशी तथा नियममा आधारित समुद्री सुशासन, जलवायु परिवर्तनका चुनौतीहरुको साझा समाधान तथा दिगो र लचिलो विकासका लागि समन्वित प्रयासमा जोड दिएको थिए । साथै भूपरिवेष्टित मुलुकका रुपमा नेपालका विशिष्ट सरोकारवालाहरुलाई अन्तर्राष्ट्रिय समुदायहरुसम्म स्पष्ट रुपमा प्रस्तुत गर्दै समुद्री पहुँच र क्षेत्रीय सहकार्य साझेदारीका विषयहरुलाई प्राथमिकताका साथ राख्नुपर्ने कुराहरु पनि मैंले औंल्याए । यस सम्मेलनमा नेपाललाई भारतीय महासागर क्षेत्र (इन्डियन ओसियन क्षेत्रसँग आफ्नो कुटनीतिक आर्थिक र रणनीतिक सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण अवसर प्रदान गरेको छ ।’
मन्त्री खनालका अनुसार उक्त सम्मेलनले नेपाललाई हिन्द महासागर क्षेत्रसँग कूटनीतिक, आर्थिक र रणनीतिक सम्बन्ध थप सुदृढ गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ । उनले वर्तमान भू–राजनीतिक परिवेशमा नेपालको सन्तुलित, स्वतन्त्र र बहुआयामिक परराष्ट्र नीतिलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने अवसर प्राप्त भएको बताए ।
सम्मेलनको अवसरमा उनले विभिन्न मित्रराष्ट्रका समकक्षीहरूसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता समेत गरेका थिए । यस क्रममा एस जयशंकरसहित भारत, भुटान, बंगलादेश, सिंगापुर, मौरिसस र तान्जेनियाका विदेशमन्त्रीहरूसँग द्विपक्षीय विषयमा छलफल भएको उनले जानकारी दिए ।
उनले भने, ‘विशेषत ः भूराजनीतिक परिवेशमा नेपालको सन्तुलित, स्वतन्त्र र बहुआयामिक परराष्ट्र नीतिलाई थप सशक्त ढंगले अभिव्यक्त गर्ने अवसर प्राप्त भएको छ । सम्मेलनको अवसरमा विभिन्न मित्रराष्ट्रका समकक्षीहरुसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता समेत भयो । यसक्रममा भारतका विदेशमन्त्री, भुटान, बंगलादेश, सिंगापुर, मौरिसस र तान्जेनियाका विदेश मन्त्रीहरुसँग पनि हामीले द्विपक्षीय विषयमा छलफल भेटघाट गर्यौं ।’