साफ यू–१९ च्याम्पियनसिप : बंगलादेशसँग नेपाल पराजित

नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१९ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ। शुक्रबार भारतको अरुणाञ्चालस्थित गोल्डन जुब्ली रंगशालामा नेपालको युवा टोली साबिक विजेता बंगलादेशसँग २–१ ले पराजित भएको हो। बंगलादेशलाई जित दिलाउन असिकुर रहमान र कप्तान नज्मुल फैसलले गोल गरे। नेपालका लागि सुजन डंगोलले गोल फर्काएका थिए।

अब, बंगलादेशले उपाधिका लागि भारत र माल्दिभ्सबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यो खेल केही समयपछि भारतमै हुँदै छ। नेपाल समूह ‘बी’को उपविजेता तथा बंगलादेश समूह ‘ए’को विजेतामा रूपमा सेमिफाइनल प्रवेश गरेका हुन्। समूह चरणमा श्रीलंकाविरुद्ध ५–० को सानदार जित निकालेको नेपालले घरेलु टोली भारतसँग ४–० को फराकिलो हार व्यहोरेको थियो। यता माल्दिभ्सँग २–२ को बराबरीमा रोकिएको बंगलादेशले भुटानलाई ३–० ले हराएको थियो।