अनुसन्धानकर्ताहरूले अमेरिकाको सान डिएगोबाट केही माइल टाढा समुद्रको सतहमा दुईवटा पुराना हराएका सैन्य सवारी साधनको भग्नावशेष फेला पारेका छन्।
तीमध्ये एउटा अमेरिकी पनडुब्बी हो, जुन सन् १९१७ मा तालिमका क्रममा डुबेको थियो, र अर्को अमेरिकी नौसेनाको तालिम विमान हो, जुन सन् १९५० मा नजिकै दुर्घटनाग्रस्त भएको थियो।
यूएसएस एफ १ नामक पनडुब्बी अर्को अमेरिकी पनडुब्बीसँग ठोक्किएर गम्भीर रूपमा क्षति भएपछि केही सेकेन्डमै डुबेको थियो। यो घटनामा १९ जना चालकदलको मृत्यु भएको थियो, भने तीन जनालाई अर्को पनडुब्बीले उद्धार गरेको थियो।
लाइभसाइन्सका अनुसार यो पनडुब्बीको भग्नावशेष सन् २०२४ को सुरुमा वुड्स होल ओसनोग्राफिक इन्स्टिच्युसन डब्लूएचओआई र अमेरिकी नौसेनाका अनुसन्धानकर्ताहरूले गरेको एक अभियानमा पहिलोपटक पत्ता लगाइएको हो। पनडुब्बी अहिले समुद्रको सतहभन्दा १,३०० फिट ९४०० मिटर० गहिराइमा अवस्थित छ।
यो गहिराइ मानव गोताखोरका लागि असम्भव भएकाले यसको सर्वेक्षण डब्लूएचओआई को अनुसन्धान जहाज अटलान्टिसमा आधारित ह्यूमन -अक्युपाइड अन्डरवाटर भेइकल (एचओभी) ‘अल्भिन’ र अटोनोमस अन्डरवाटर भेइकल (एयूभी) ‘सेन्ट्री’ द्वारा गरिएको हो।
“यी दुई महत्वपूर्ण समुद्री उपकरणहरू एकसाथ अत्यन्त राम्रोसँग काम गर्छन्,” डब्लूएचओआईमा अल्भिन समूहका प्रबन्धक ब्रुस स्ट्रिकरटले भन्नुभयो, “यी दुई प्रविधिको संयोजनले गहिरो समुद्री अनुसन्धान र अन्वेषणलाई रूपान्तरण गरेको छ र अब यो अल्भिनका वैज्ञानिक मिशनहरूको नियमित भाग बन्दै गएको छ।”