कर्मचारीको तलब बढ्ने, ईभीदेखि शेयरको पुँजीगत लाभकरसम्म वृद्धि हुने – बजेट २०८२/०८३

सरकारले भोली जेठ १५ गते बिहीबार आर्थिक वर्ष २०८२र८३ को संघीय बजेट प्रस्तुत गर्न तीव्र तयारी गरिरहेको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले हिजो मंगलबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई बजेटबारे विस्तृत ब्रिफिङ गरिसक्नुभएको छ ।

मंगलबार अर्थमन्त्री पौडेलले संसदमा आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम विपक्षी सांसदहरूका कारण अवरुद्ध भयो । त्यसलाई बुधवारको बैठकमा पेश गरिने मन्त्रालय सम्बद्ध स्रोतले जनाएको छ ।

बजेटबारे सम्पूर्ण तयारी पूरा भइसकेको अर्थ मन्त्रालय स्रोतले जानकारी दियो । आगामी आर्थिक वर्षका लागि राजस्व र करनीति पनि तय भइसकेको मन्त्रालय स्रोतको दाबी छ ।

यो बजेटले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई साकार पार्ने, आर्थिक सुधारलाई प्राथमिकता दिने र सामाजिक सुरक्षालाई सुदृढ गर्ने लक्ष्य राखेको छ ।

तर, बाहिर चर्चामा आएका शेयर बजारमा पूँजीगत लाभकर वृद्धि, विद्युतीय सवारी (ईभी)को राजस्व वृद्धि, दोहोरो करको निरन्तरता र घरजग्गा व्यवसायमा नीतिगत सुधारको अभावजस्ता विषयले निजी क्षेत्र, लगानीकर्ता र सर्वसाधारण सशंकित देखिन्छन् ।

मन्त्रालय स्रोतले शेयर लगानीकर्ताका लागि पूँजीगत लाभकारमा वृद्धि हुन सक्ने बताएको छ ।

आन्तरिक राजस्व विभागको प्रस्तावअनुसार शेयर कारोबारको नाफामा लाग्ने पूँजीगत लाभकरलाई १० प्रतिशतसम्म पुर्‍याउने तयारी सरकारको छ ।
सरकारले कर्मचारीको आधारभूत तलब १० प्रतिशत वृद्धि गर्ने र महंगी भत्तालाई निरन्तरता दिने तयारी गरेको हो ।