पशुपतिनाथ मन्दिर परिसरको खुल्ला क्षेत्रमा गीत–भजन गाएर जीविकोपार्जन गरिरहेका दृष्टिविहीन तथा अशक्त व्यक्तिहरूले दैनिक जीवनयापनदेखि बसोबास, स्वास्थ्य उपचार र सामाजिक व्यवहारसम्म अनेक समस्या भोग्नुपरेको बताएका छन् ।
उनीहरूले वृद्धभत्ता तथा सर्वसाधारणले दिने सहयोगकै भरमा जीवन चलिरहेको भए पनि त्यसले आधारभूत आवश्यकता समेत पूरा गर्न नसकेको गुनासो गरे ।
गौरीघाट क्षेत्रमा बस्दै आएकी ‘खगिसरा’ नाम बताउने एक महिलाले पहिले साथीभाइसँगै समूहमा सडक पेटी वा खुल्ला क्षेत्रमा बसेर भजन गाउँदै बस्ने गरेको भएपनि हिजोआज छुट्टाछुट्टै बस्न थालेको बताइन् । उनले भाडा समयमै तिर्न नसक्दा घरधनीबाट गाली खानुपर्ने बाध्यता रहेको सुनाइन् ।

‘२१ सय भत्ताले मात्रै कहाँ पुग्छ र ? घरभाडा दुई–चार दिन ढिला भयो भने घरधनीले कोठाको सामान मिल्काइदिने वा गाली गर्छन्,’ उनले दखेसो पोखिन् ।
उनले आफूले पोखरा, काठमाडौं, भैरहवा र बुटवलमा समेत आँखा परीक्षण गराएको तर चिकित्सकले आँखाको नसासमेत सुकेको बताएको जानकारी दिइन्।
उनका अनुसार आठ वर्षको उमेरदेखि दृष्टि कमजोर हुन थालेपछि पाँच कक्षासम्म मात्रै अध्ययन गर्न सकिन् । त्यसयता दृष्टि क्रमश घट्दै गएको उनले सुनाइन् ।
‘म उज्यालो मात्रै छुट्याउन सक्छु । बाटोमा हिँड्दा अनुमानकै भरमा हिड्छु । कतिबेला ठोक्किने वा खाल्डोमा पर्ने थाहा हुँदैन् । जसले भोगेको छ, उसलाई मात्रै यसको पीडा थाहा हुन्छ,’ उनले भनिन् ।

उनले एक्लै बस्न र दैनिक काम गर्नुपर्ने अवस्था रहेको बताउँदै अरूको व्यवहारले शारीरिकभन्दा मानसिक पीडा बढी हुने उल्लेख गरिन् ।
यस्तै, पशुपति परिसरमै भेटिएकी कविता ओलीले पनि आठ वर्षअघि आँखामा चोट लागेपछि एउटा आँखाले पूर्ण रूपमा देख्न छाडेको र अर्को आँखाले पनि धमिलो मात्रै देख्ने बताइन् ।
दाङको तुलसीपुर घर भएकी उनी अहिले श्रीमान् र नातिनीसँग बस्दै आएकी छन् । उनका श्रीमान् पनि दृष्टिविहीन रहेको उनले जानकारी दिइन् ।
‘हामी दुवैले राम्रोसँग देख्न सक्दैनौँ । जनताले दिएको सहयोग भए खान पाइन्छ, नत्र गाह्रो हुन्छ,’उनले भनिन् ।
उनका अनुसार उनीहरू दृष्टिविहीनका लागि सञ्चालन हुने विद्यालयमा अध्ययनका क्रममा भेटिएका थिए । अहिले पनि माइती पक्षको सहयोगले दैनिक जीवन सहज बनाउने प्रयास भइरहेको उनले बताइन् ।
पशुपति क्षेत्रमा मागेर जीविकोपार्जन गर्नेहरूलाई बेला–बेला प्रहरीले नियन्त्रणमा लिएर त्यहाँ माग्न नपाइने चेतावनी दिने गरेको उनीहरूको गुनासो छ ।
‘यहाँ माग्न पाइँदैन भनेर चौकीमा लैजान्छन् । दिनभरि त्यहीँ चाउचाउ र पानी खाएर बस्नुपर्छ,’ ओलीले भनिन् ।
आश्रममा बस्न सुझाव पाएपनि परिवारसँग छुट्टिएर आश्रममा बस्न आफूहरू तयार नभएको उनीहरूको भनाइ छ ।
दृष्टिविहीन तथा अशक्त व्यक्तिहरूले नियमित आयआर्जनको अवसर, सहज उपचार, सम्मानजनक बसोबास र सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयनमा राज्यको ध्यान आवश्यक रहेको बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले अभियान दृष्टिविहीन वा अपाङ्गता भएका व्यक्तिलाई लक्षित नभई सडकमा आश्रित तथा सहयोगको आवश्यकता भएका व्यक्तिको उद्धार र संरक्षणका लागि सञ्चालन गरिएको स्पष्ट पारे।
काठमाडौं महानगरपालिकाले सडकमा आश्रित तथा सहयोगापेक्षी मानवलाई उद्धार गरी सुरक्षित आश्रयमा व्यवस्थापन गर्ने अभियान सुरु गरेको छ
महानगरपालिकाले काठमाडौं महानगरपालिका, मानव सेवा आश्रम, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालय काठमाडौंबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्दै सडकआश्रित मानवमुक्त अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।
उनले भने, ‘सडकमा बसोबास गर्ने, सहयोगको आवश्यकता भएका तथा गीत–संगीत वा अन्य माध्यमबाट जीविकोपार्जन गरिरहेका सहयोगापेक्षी व्यक्तिहरूलाई उद्धार गरी मानव सेवा आश्रमका विभिन्न आश्रयस्थलमा राखिनेछ । उनीहरूको खानपान, आवास, औषधोपचार तथा आवश्यक हेरचाहको व्यवस्था सम्बन्धित निकायहरूको सहकार्यमा गरिने छ ।’
केहि समय अघि दृष्टिविहीनहरुको समूह सडक आन्दोलनमा पनि आएका थिए ।