स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज आफ्नो देश र साविक विजेता अर्जेन्टिनाबिच हुने विश्वकप फुटबलको फाइनल खेल हेर्न अमेरिकाको न्युयोर्क जाने भएका छन् ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पनि आइतबार न्यु जर्सीमा हुने फाइनल हेर्न जाने योजना छ।
सान्चेजले फाइनल खेलमा उपस्थित भई आफ्नो समूहलाई राम्रो प्रदर्शनका लागि प्रोत्साहन गर्नेछन् र खेल सकिँदासाथ अल्जेरियाको औपचारिक भ्रमणमा जाने उनको मन्त्रिपरिषद्ले एएफपीलाई बताएको छ।
अर्जेन्टिनसँग हुने फाइनल खेलमा स्पेनी राजा फिलिप छैटौँ, रानी लेटिजिया र उनीहरूका दुई छोरीहरू पनि उपस्थित हुने बताइएको छ।

स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज
खेलमा अर्जेन्टिनाका राष्ट्रपति जाभिएर मिलेइ भने उपस्थित नहुने सम्भावना छ। समाजवादी नेता सान्चेजको ट्रम्पसँग लामो समयदेखि तनावपूर्ण सम्बन्ध छ। उनले अमेरिकी सेनालाई इरान युद्धका लागि स्पेनका आधार प्रयोग गर्न दिएका छैनन् र भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई हटाउने अमेरिकी अभियानको विरोध गरेका छन्।
राष्ट्रपति ट्रम्पले यसै महिना टर्कीमा भएको उत्तर एटलान्टिक सन्धि सङ्गठन -नेटोको शिखर सम्मेलनमा स्पेनलाई ‘नेटोमा भयानक साझेदार’ को संज्ञा दिएका थिए र अमेरिकाले स्पेनसँग अब कुनै व्यापार नगर्ने बताएका थिए।
सान्चेजले सम्बन्ध सुधार्न प्रयास गरेको देखिन्छ। शिखर सम्मेलनपछि पत्रकार सम्मेलनमा उनले दुई देशबीचको सम्बन्ध ‘सकारात्मक’ रहेको बताए।
उनले शिखर सम्मेलनका क्रममा ट्रम्पसँग फुटबलबारे ‘अनौपचारिक कुराकानी’ गरेको र ‘कुनै प्रकारको तनाव नभएको’ बताए।
एएफपी
