गुरु भन्नाले केवल शैक्षिक शिक्षकलाई मात्र जनाउँदैन, बरु गुरु भनेको आत्मिक मार्गदर्शक र जीवनका सही मार्गमा हिँड्न मद्दत गर्ने व्यक्तिलाई जनाउँछ । गुरु आफ्नो शिष्यलाई ज्ञान, संस्कार, र जीवनका महत्वपूर्ण पाठहरू सिकाउँछन् । जसले जीवनको साँचो अर्थ र उद्देश्यलाई बुझ्न मद्दत पु-याउँछ ।
गुरुको स्थान भगवानलाई पूजा गर्ने ठाँउमा हुन्छ । किनकि उनी ज्ञानको दीप जलाएर अज्ञानको अन्धकार हटाउँछन् । गुरुले शिष्यलाई सही मार्गमा हिँड्नको लागि दिशा दिन्छ, जसबाट शिष्यको जीवन सफल र खुशहाल बन्ने सम्भावना हुन्छ । तर, जीवनलाई अन्धकारबाट उज्यालो तर्फ लैजान मद्दत गर्ने उनै गुरु शिष्यको महत्वमा पर्न छाडेका छन् ।
हेला हुँदै छन् गुरु
आजको समाजलाई प्रविधि र सूचनाको पहुँचले सहज भएको छ । यो युगमा गुरुहरूको महत्व घट्दै गएको देखिन्छ । पहिलेका दिनमा गुरुलाई परम आदरणीय मानिन्थ्यो, जसको वचनलाई धर्मको रुपमा लिइन्थ्यो । तर आज धेरै ठाउँमा गुरुहरूको स्थान एक “सेवाप्रदायक“ वा “काम गराउने कर्मचारी“ जस्तो हेरिन थालिएको छ । यस्तो हुनु प्रविधि र सूचनाको विकासका कारण हो भनेर ठोकुवा गर्न सकिन्छ ।
शिक्षा आजकल व्यवसाय बन्दै गएका कारण गुरुलाई “पैसा कमाउने साधन“ का रूपमा हेर्ने प्रवृत्ति बढेको छ । यस्तो अवस्थामा न त गुरु सम्मानित छन्, न त शिष्य कृतज्ञ ।
इन्टरनेट, युट्युब र विभिन्न अनलाइन माध्यमले विद्यार्थीहरूलाई सजिलो ज्ञान दिएको छ — तर गुरुको प्रत्यक्ष मार्गदर्शन र अनुभवबाट टाढा बनाएको छ । “सबै कुरा गुगलमै छ“ भन्ने सोचले गुरुको आवश्यकता नै नभएजस्तो भ्रम पैदा भएको छ । तर, ज्ञान र बुद्धिको बीचको पुल भने गुरु नै हुन्, जुन प्रविधिले कहिल्यै दिन सक्दैन ।
परिवार र समाजको भूमिका
अहिलेका अभिभावकहरूले पनि आफ्ना बालबालिकालाई ‘गुरुको सम्मान गर्नुपर्छ’ भन्ने संस्कार कम दिन थालेका छन् । विद्यालयमा शिक्षकलाई नै चुनौती दिने र सार्वजनिक रूपमा हेला गर्ने घटनाहरूसमेत देखिन थालेका छन् । यो भावी पुस्तामा गुरुको महत्व बुझ्ने संस्कार मेटिँदै गएको संकेत हो ।
हामीले समाजमा फेरि गुरुहरूको यथोचित स्थान पुनस्र्थापना गर्न आवश्यक छ । विद्यालयहरूमा “गुरु सम्मान दिवस“ जस्ता कार्यक्रमलाई पुनः जोड दिनु आवश्यक छ । अभिभावकहरूले आफ्ना बालबालिकालाई गुरुको आदर गर्ने संस्कार दिनुपर्छ । स्वयं शिक्षकले पनि आचरण र निष्ठाको उच्चतम स्तर देखाउनुपर्छ, ताकि उनीहरू फेरि विश्वास र सम्मानका पात्र बनून् ।
नैतिक शिक्षा र गुरु
नैतिक शिक्षा भनेको केवल “के राम्रोरु के नराम्रोरु“ भन्ने प्रश्नको उत्तर मात्र होइन, यो जीवन बाँच्ने तरिका, सोच्ने शैली, र मानवीय मूल्यमान्यताको आधार हो । यसलाई जीवनको मेरुदण्ड मानिन्छ । नैतिक शिक्षालाई प्रदान गर्ने सबैभन्दा प्रभावशाली पात्र गुरु नै हुन् ।
गुरु भनेको केवल पठनपाठन गराउने शिक्षक मात्र होइनन्स गुरु भनेको शिष्यलाई सत्य, धर्म, करूणा, सहिष्णुता, इमानदारी र कर्तव्यबोध सिकाउने व्यक्ति हुन् । गुरुको कार्य ज्ञान दिनु मात्र नभई, त्यो ज्ञानलाई आचरणमा कसरी उतार्ने भन्ने कुरा सिकाउनु पनि हो–जुन नैतिक शिक्षाको मूल सार हो ।
गुरुबाट ईमानदारी र सत्य बोल्ने बानी, आफ्ना कर्तव्यप्रति सजगता, सामाजिक जिम्मेवारी र सेवा भावना, कृपा, दया र करुणा प्रदर्शन गर्ने क्षमता, आत्मनियन्त्रण, अनुशासन र सहनशीलता जस्ता नैतिक शिक्षा लिन सकिन्छ ।
आजको प्रतिस्पर्धात्मक, व्यावसायिक र प्रविधि–मुखी जीवनशैलीमा मानवीय मूल्यहरू कमजोर हुँदै गइरहेका छन् । शिक्षाको केन्द्रमा अब नम्बर र डिग्री छन्, मूल्य र संस्कार छैनन् । यस सन्दर्भमा, गुरुहरूको भुमिका झनै महत्वपूर्ण बन्न जान्छ ।
सफलता केवल पैसा वा पदमा होइन, चरित्रमा पनि हुन्छ, नैतिक बल बिना ज्ञान अधुरो हुन्छ, जसले समाजलाई सहयोग गर्छ, उही साँचो शिक्षित हो जस्ता चेतना एक सच्चा गुरुले शिष्यमा विजारोपण गराएका हुन्छन् ।
गुरुको सम्मान र आदर गर्नु हाम्रो संस्कृतिको अत्यन्त महत्वपूर्ण पक्ष हो । गुरु विना, कुनै पनि शिष्यको जीवन ज्ञान र समृद्धिले भरिपूर्ण हुन सक्दैन । गुरुले दिएको शिक्षा र मार्गदर्शनले मात्रै हामीलाई साँचो अर्थमा जीवन यापन गर्न सक्षम बनाउँछ ।
गुरुको सम्मानका लागि विभिन्न परम्पराहरू छन् । जस्तै गुरु पूजन, उनका चरण रज ग्रहण, र साधारणतया मन्नतहरू अर्पण गर्नु । यस दिन शिष्यहरूले आफ्नो गुरुका लागि आशीर्वाद लिन्छन् र कृतज्ञता व्यक्त गर्छन् ।
सन्सारन्यूजबाट साभार