विश्व नृत्य दिवसले आम जनतामा नृत्यको महत्त्वबारे चेतना अभिवृद्धि गर्दछ । यसको लक्ष्य संसारभरका सरकारहरूलाई सबै शिक्षा प्रणालीहरूमा नृत्यको लागि उचित स्थान प्रदान गराउनु पनि हो । त्यसैले नेपाल लगायत विश्वभर यो दिवस मनाइन्छ ।
आविष्कारक, कलाका विद्वान, शिक्षक र आधुनिक ब्यालेका निर्माता जिन जर्जस् नोभेरेको जन्म दिनको अवसर पारेर सन् १९८२ बाट विश्व नृत्य दिवस मनाइन्छ । अन्तराष्ट्रिय रंगमञ्च संस्थाको नृत्य समितिले यो दिवस मनाउन सुरु गरेको हो ।
वास्तबमा भन्ने हो भने, नृत्य भावना र मानविय संवेदनाको अभिव्यक्ति हो । नृत्य उत्साहको प्रतिक हो । नृत्य दर्शन पनि हो । मानिस खुशि अभिव्यक्त गर्न नाच्ने गर्दछ । मानिस मात्रै होइन पशुपंक्षि पनि नाच्ने गर्दछन् । मयुर र बाँदर नाचेको हेर्न सबैलाई मन पर्छ । त्यतिमात्र होइन भगवानहरूको पनि नृत्यलाई आ–आफ्नै नामाकरण गरिएको छ, बिहे व्रतबन्ध अनि अन्य कुनै पनि जीवन उन्मुख क्रियाकलापमा नृत्यको महानता छ । अहिले जुम्बा, हिपहप, ब्रेक डान्स,बालेट, साल्सा लगायतका नाच प्रख्यात छ ।
पछिल्लो समयको विकासक्रमसँगै नृत्य पेशा पनि बन्न थालेको छ । नाच्न सिकाउने प्रशिक्षक भएर वा कार्यक्रममा नृत्य प्रस्तुत गरेर पनि मानिसले रोजगारि पाएका छन् ।
नृत्यको अनेक फाइदाहरु भएकाले यसलाई उपयोगी कसरतको रुपमा लिन सकिन्छ । अचेल बिहान योगको अभ्यास गर्ने मानिसहरुले पनि केही समय नृत्यको अभ्यास गर्ने गरेको पाइन्छ । केहि समय नाच्नाले हृदय तथा फोक्सोको अवस्तामा सुधार आउँने गर्दछ । नृत्यले मानिसको मांसपेशि बलियो बनाउँन सहयोग गर्दछ ।