नेपालको राजनीतिमा आएको पछिल्लो जनादेशलाई धेरैले आशा, असन्तुष्टि र परिवर्तनको चाहनाको शक्तिशाली अभिव्यक्तिका रूपमा व्याख्या गरिरहेका छन्। लामो समयदेखि सीमित दल र पुराना नेतृत्वको वरिपरि घुमिरहेको राजनीति प्रति आम नागरिकमा निराशा बढ्दै गएको थियो। भ्रष्टाचार, कमजोर सुशासन, बेरोजगारी, आर्थिक सुस्तता र निरन्तरको राजनीतिक खिचातानीका कारण जनता थकित भइरहेका थिए। यही परिस्थितिमा नेपाली जनताले नयाँ विकल्प, नयाँ सोच र नयाँ नेतृत्वतर्फ आफ्नो विश्वास देखाएका छन्।
यस सन्दर्भमा रबि लामिछाने नेतृत्वको रास्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको अत्यधिक जनसमर्थनलाई धेरैले जनताको पीडा, आशा र विश्वासको अभिव्यक्ति मानेका छन्। यो समर्थन केवल एउटा राजनीतिक दलप्रतिको मत मात्र होइन, विगतका वर्षहरूमा सञ्चित असन्तुष्टि र परिवर्तनको आकांक्षाको परिणामका रूपमा पनि बुझिएको छ।
राजनीतिमा सबैभन्दा ठूलो पूँजी भनेको जनताको भरोसा हो। जति नै पुरानो र स्थापित राजनीतिक दल भए पनि यदि त्यसले जनताको विश्वास जोगाउन सकेन भने त्यो विश्वास क्रमशः कमजोर हुँदै जान्छ। यही पृष्ठभूमिमा युवापुस्ताको सक्रियता, बढ्दो जनचेतना र परिवर्तनको चाहनाले नयाँ राजनीतिक ऊर्जा जन्माएको देखिन्छ।
नयाँ नेतृत्वको चर्चा चलिरहँदा बालेन शाहको नाम पनि विशेष रूपमा उठिरहेको छ। युवापुस्तामा लोकप्रिय बनेका बालेनले सुशासन, पारदर्शिता र विकासप्रतिको प्रतिबद्धताले धेरैलाई आशावादी बनाएका छन्। यदि नयाँ नेतृत्वले जनताको अपेक्षाअनुसार काम गर्न सके भने यो जनादेश केवल चुनावी परिणाममा सीमित नरही राष्ट्र निर्माणको महत्वपूर्ण अवसर बन्न सक्छ।
नेपालको संविधानले स्थिर सरकारको परिकल्पना गरेको छ। जब कुनै दलले स्पष्ट बहुमत प्राप्त गर्छ, तब नीति निर्माण, आर्थिक सुधार र प्रशासनिक निर्णयहरूलाई प्रभावकारी रूपमा लागू गर्ने अवसर प्राप्त हुन्छ। यस्तो अवस्थामा सरकारको मुख्य जिम्मेवारी भनेको जनताले दिएको विश्वासलाई व्यवहारमा रूपान्तरण गर्नु हो।
नयाँ सरकारका लागि सबैभन्दा पहिलो प्राथमिकता सुशासन र पारदर्शिता हुनुपर्छ। भ्रष्टाचार नियन्त्रण, सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति पारदर्शी बनाउने, प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त गर्ने र न्याय प्रणालीलाई छिटो तथा प्रभावकारी बनाउने काम अत्यन्त आवश्यक छ। अदालत, प्रशासन र सार्वजनिक सेवा प्रणालीलाई आधुनिक र सहज बनाउनु आजको आवश्यकता हो।
जलविद्युत, सडक, रेलमार्ग, पर्यटन, कृषि, ऊर्जा र उद्योग क्षेत्रमा दीर्घकालीन योजना ल्याउन सके देशको आर्थिक अवस्था बलियो बन्न सक्छ। स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने, लगानीका लागि अनुकूल वातावरण बनाउने र उद्योग–व्यवसायलाई संरक्षण गर्ने नीति आवश्यक छ।
यससँगै ठूलो संख्यामा विदेशिएका नेपाली युवालाई स्वदेशमै अवसर सिर्जना गर्नु पनि सरकारको प्रमुख जिम्मेवारी हो। रोजगारी, सीप विकास र उद्यमशीलता प्रोत्साहनका कार्यक्रममार्फत युवालाई देशमै भविष्य देखाउने वातावरण बनाउन सकियो भने यसले आर्थिक विकासलाई पनि गति दिनेछ।
सामाजिक क्षेत्रमा स्वास्थ्य र सामाजिक सुरक्षाको विषय पनि अत्यन्त महत्वपूर्ण छ। सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउने, ज्येष्ठ नागरिकलाई सम्मानजनक सुविधा उपलब्ध गराउने र सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने दिशामा सरकार गम्भीर हुन आवश्यक छ।
यसैगरी विदेशमा रहेका नेपालीहरूको ज्ञान, अनुभव र लगानीलाई राष्ट्रिय विकासमा जोड्ने नीति पनि उपयोगी हुन सक्छ। संसारका विभिन्न देशमा बसेका नेपालीहरूको क्षमता देश निर्माणमा प्रयोग गर्न सकियो भने आर्थिक र प्राविधिक विकासलाई नयाँ दिशा दिन सकिन्छ।
आजको जनादेशले स्पष्ट सन्देश दिएको छ- नेपाली जनता परिवर्तन चाहन्छन्, इमानदार र उत्तरदायी शासन चाहन्छन्, र राष्ट्रको विकासमा ठोस परिणाम देख्न चाहन्छन्। अब जिम्मेवारी नेतृत्वको काँधमा छ।
यसैले यो समय केवल सरकार गठनको उत्सव मात्र होइन, जिम्मेवारी र अवसरको समय पनि हो। जनताको विश्वासलाई कायम राख्दै राष्ट्रको आर्थिक, सामाजिक र राजनीतिक रूपान्तरणतर्फ दृढतापूर्वक अघि बढ्न सके नेपाललाई समृद्ध र आत्मनिर्भर राष्ट्र बनाउने सपना साकार हुन सक्छ।
नेपाल र नेपालीको समृद्धि, स्थिरता र कल्याणका लागि यही शुभकामना।
(लेखक पुष्प रत्न शाक्य ललितपुर चेम्बर अफ कमर्शका अधक्ष हुन् )
