उदयपुरको चौदण्डीगढी नगरपालिका -५ स्थित सिवाई बेल्हा गाउँको बीचमा रहेको त्रियुगा नदीको बाढीले जन्ती पुर्याएर फर्किएको बस बगाएको छ ।
सोमबार राति सिवाईबाट सप्तरीमा जन्ती पुर्याएर बेल्टार फर्किने क्रममा को १ ख ४७५३ नम्बरको बराहक्षेत्र नामक यात्रुबाहक त्रियुगा नदीमा आएको बाढीले बगाएको हो ।
इलाका प्रहरी कार्यालय सिवाईका असई जगदशप्रसाद मेहताले बस सोमबार राति ११ बजे त्रियुगा नदीमा आएको बाढीमा बगेर डुबेको बताउनुभयो ।
नदीमा डुबेको बसमा चालक र सहचालक मात्रै रहेको उनीहरू सकुशल रहेका प्रहरीले जनाएको छ । नदीमा डुबेको उक्त बस निकाल्न क्रेन बोलाइएको छ । न्यू प्रतिसारा यातायातद्वारा सञ्चालिक उक्त यात्रुबाहक बस धरान बेल्टार रूटमा चल्ने गरेको हो ।