परराष्ट्रमन्त्री आरजु राणा देउवाले ‘सगरमाथा संवाद’ को तयारी अन्तिम चरणमा पुगेको बताएकी छन् ।
मंगलबार ‘सगरमाथा संवाद’ बारेमा पत्रकारहरुलाई ब्रिफिङ गर्दै उनले जेठ २ देखि ४ गतेसम्म चल्ने ‘सगरमाथा संवाद’ को तयारी अन्तिम चरणमा पुगेको भन्दै संवादमा यसपटकको विषयवस्तु ‘क्लाइमेट चेन्ज माउन्टेन एण्ड द फ्युचर अफ ह्युमानीटी’ रहेको बताइन् ।
उनले भनिन्, ‘नेपाल सरकारले ‘सगरमाथा संवाद’ को पहिलो संस्करण १६ देखि १८ मे, जेठ २ देखि ४ गतेसम्म गर्दैछ । संवादको यसपटकको विषयवस्तु ‘क्लाइमेट चेन्ज माउन्टेन एण्ड द फ्युचर अफ ह्युमानीटी’ रहेको छ । ‘सगरमाथा संवाद’ नेपालले स्थापना गरेको अन्तर्राष्ट्रिय फोरम हो । यसमा मानव समस्या, त्यसमाथि छलफल र समाधानकाबारे अन्तरक्रिया गरिन्छ । यसैगरि ‘सगरमाथा संवाद’ को तयारी हाल अन्तिम चरणमा पुगिसकेको छ । तयारीको बारेमा विभिन्न समयमा पत्रकार सम्मेलन आयोजना गरि जानकारी पनि गराइरहेका छौं ।’
यस्तै, उनले नेपालको हिँउ पग्लिने हो भने सबैलाई समस्या हुने हुँदा नेपालका हिमालका बारेमा नेपाल मात्र होइन् विश्वलाई नै चासो रहेको भन्दै संवादमा धेरै देशको प्रतिनिधिहरुको सहभागिता रहने बताइन् ।