नेपाल विद्युतीय व्यवसायी महासंघको १५औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा गण्डकी प्रदेशको पर्यटकीय नगरी पोखरामा सम्पन्न भएको सभामा देशभरका विद्युतीय व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशमा लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। उनले व्यवसाय सञ्चालनमा प्रदेशका कानुन बाधक भएमा व्यवसायीहरुसँग छलफल गरी आवश्यक संशोधन गर्न सरकार तयार रहेको बताए।
‘सरकारले आफैं व्यापार गर्ने होइन, निजी क्षेत्रलाई सहजीकरण गर्ने हो,’ उनले भने, ‘जति निजी क्षेत्रको लगानी बढ्छ, त्यति नै सरकारको राजस्व बढ्छ र त्यसबाट विकास निर्माणमा टेवा पुग्छ।’ उनले विद्युत उत्पादनमा सहकार्यको प्रस्ताव राख्दै विद्युतीय व्यवसायको भविष्य उज्ज्वल रहेको र यस क्षेत्रमा लगानी बढाउन व्यवसायीहरुलाई आग्रह गरे।
मुख्यमन्त्री पाण्डेले विद्युतीय व्यवसायीहरुले भोगिरहेका कानुन र भन्सार सम्बन्धी समस्या समाधानका लागि संघीय सरकार समक्ष पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।