साफ यू-२० महिला च्याम्पियनसिपको लागि टिम बनाउन खुला छनोट गरिने

साफ यू-२० महिला च्याम्पियनसिपका लागि नेपाली यू-२० महिला टिम बनाउन खुला छनोट गरिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार सूचना जारी गर्दै खुला छनोटमार्फत उमेर समूहको टिम निर्माण गर्ने जानकारी दिएको हो ।

टिम निर्माणका लागि तीन स्थानमा छनोट कार्यक्रम हुनेछ । आगामी जेठ ५ देखि ६ सम्म एन्फा एकेडेमी मैदान धरान, जेठ ८ देखि १० सम्म कर्णाली रंगशाला सुर्खेत तथा जेठ ११ देखि १४ सम्म एन्फा मुख्यालय मैदान सातदोबाटोमा छनोट कार्यक्रम हुने एन्फाले जनाएको छ ।

छनोटमा सहभागी हुन २०६२ पुस १७ देखि २०६५ पौष १६ गते भित्रको जन्ममिति हुनुपर्ने छ । यसैगरी खेलाडीले खेलाडीले जन्मदर्ताको पत्रमाण पत्र, नागरिकता वा पासर्पोट अनिवार्य रूपमा पेश गर्नुपर्ने एन्फाले जनाएको छ ।

साफ यू-२० महिला च्याम्पियनसिप आगामी जुलाई ११ देखि २१ सम्म (असार २७ देखि साउन ५ गते) बंगलादेशमा हुनेछ । गत वर्ष बंगलादेशमै भएको च्याम्पियनसिपमा भारत र बंगलादेश संयुक्त रुपमा च्याम्पियन बनेको थियो । नेपालले अहिलेसम्म यो उमेर समूहमा उपाधि जित्न सकेको छैन ।