एनआरएनए अस्ट्रेलियाको निर्वाचन मिति घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले नयाँ कार्यकालको लागि निर्वाचनको मिति घोषणा गरेको छ।  एनआरएनए अस्ट्रेलियाले पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी जुलाई २६ अर्थात साउन १० गते शनिबार निर्वाचन हुने जानकारी गराएको हो।

आईसीसी सदस्य डिल्लीराम ढकाललाई राष्ट्रिय निर्वाचन संयोजक तोकिएको छ। त्यस्तै एडिलेडका राजु उपाध्याय उपसंयोजक छन्।

यस्तै न्युसाउथवेल्सको संयोजकमा राजु मानन्धर, भिक्टोरियामा हेम दुलाल, क्विन्सल्यान्डमा सुरेश खत्री, साउथ अस्ट्रेलियामा अंकुर उपाध्याय, वेस्टर्न अस्ट्रेलियामा रविन बर्तौला, तास्मानियामा कञ्चन अर्याल र एसिटीमा कृष्ण सुवेदी र नर्दन टेरेटोरीमा दिनेश सापकोटालाई संयोजक तोकिएको पत्रकार सम्मेलनमार्फत एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले जानकारी दिए।

निर्वाचन आयोग र एनआरएनको छलफलपछि समिति सदस्यको टुंगो लाग्ने उनले बताए। यसपटक एनआरएन अस्ट्रेलियाको नयाँ विधान अनुसार अध्यक्ष, एक उपाध्यक्ष, महासचिव र कोषाध्यक्षका लागि निर्वाचन हुनेछ।