मानसिक स्वास्थ्य समस्याको समाधानतर्फ लाग्ने मन्त्रीको दाबी

स्वास्थ्यमन्त्री प्रदिप पौडेलले मानसिक स्वास्थ्य समस्याबाट प्रभावितहरुको समस्यामा बढोत्तरी भैरहेकोमा आपत्ती जनाउनुभएको छ ।

काठमाडौंमा आज शुक्रबार भएको कार्यक्रममा उहाँले ठूलो जनसंख्या यसबाट प्रभावित हुन सक्ने देखिएको बताउँदै सम्मानित सर्वोच्च अदालतको निर्देशनात्मक आदेशलाई समेत मध्यनजर गर्दै दोहोरोपन हटाएर मानसिक स्वास्थ्य समस्याको प्रभावकारी सम्बोधनका उपायबारे छलफल गरेको उल्लेख गर्नुभयो ।

उहाँले हरेक संघीय अस्पतालमा एक मानसिक स्वास्थ्य विशेषज्ञ व्यवस्था गरिने, विद्यालय पाठ्यक्रममा स्वास्थ्य शिक्षा अनिवार्य बनाएर त्यसमा मानसिक स्वास्थ्यका विषय समावेश गर्न शिक्षा मन्त्रालयसँग सहकार्य आरम्भ गरेको, विद्यालय स्वास्थ्य दूत कार्यक्रममार्फत विद्यालय तहदेखि नै मानसिकसँगै स्वास्थ्य सचेतना फैलाउन आगामी वर्ष काम थाल्ने योजना रहेको र यसबाहेक विद्यालय नर्स कार्यक्रमलाई परिमार्जन गर्दै संस्थागत विद्यालयमा समेत लागु गराउन तीनै तहबीच सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।