विपीन जोशीको रिहाइका लागि कतारका विशेष दूतसँग पुनः आग्रह

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपन सम्बन्धी विशेष दूतसँग विपीन जोशीको अवस्था र स्वदेश फिर्तीका बारेमा थप पहलका लागि आग्रह गर्नुभएको छ ।

सगरमाथा संवादमा सहभागिताका लागि काठमाडौँ आउनुभएका कतारको विदेश मन्त्रालयका विशेष दूत बदर उमर इस्माइल अल दफासँग हिजो शुक्रबार भएको भेटका क्रममा मन्त्री डा राणाले सो आग्रह  गर्नुभएको हो । डा.राणासँग भएको शिष्टाचार भेटका क्रममा हमासको अपरहणमा परेका नेपाली युवक विपीन जोशीको अवस्थाका बारेमा कुराकानी भएको थियो ।

मन्त्री डा। राणाले विपीन जोशीको रिहाइ र नेपाल फिर्तीका लागि कतारले गर्दै आएको प्रयासका लागि धन्यवाद ज्ञापन गर्दै यस विषयमा निरन्तर पहल जारी राख्न र जोशीको रिहाइका लागि थप पहल गरिदिन पुनः आग्रह गर्नुभएको थियो। यसअघि पनि मन्त्री डा राणाले कतारका विदेशमन्त्री तथा इजरायलसँग हमासको शान्ति वार्ताका प्रमुख मध्यस्थकर्तासँग विपीनको रिहाइका लागि आवश्यक पहल गरिदिन बारम्बार आग्रह गर्नुभएको छ ।